कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ, छानबिन गर्ने सरकारको तयारी

  मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : सेयर खरिदबिक्रीबारे सवत्र शङ्का भैरहँदा एनसेलले कानुनको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ । अहिलेसम्म सबै कर दायित्वहरु पूर्ण रुपमा पालना गरेको र थप कर तिर्नुपर्ने भएमा कानुनअनुसार तिर्न तयार रहेको एनसेलको भनाइ छ ।

एनसेलले विज्ञप्ति निकालेर नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा दिन तथा डिजिटल नेपालको लक्ष्य पूरा गर्नको लागि सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको पनि जनाएको छ । आवश्यक सहमतिका लागि दूरसञ्चार प्राधिकरणसँग छलफल भैरहेको पनि एनसेलको भनाइ छ ।

यसअघि हिजो बुधवार दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा पनि एनसेलले यस्तै प्रतिबद्धता जनाएको थियो । गएको १५ गते शेयर खरिदबिक्रीको पूर्व स्वीकृति नदिइ एनसेल आजियाटा बिक्री सम्झौता भएको खुलासा भएको थियो ।

त्यसलगत्तै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिदबिक्री वा नामसारी गर्नु पहिले प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो ।एनसेलले बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरूबाट सङ्कलनको क्रममा रहेको जनाएको छ ।

एनसेल सेयर बिक्री प्रकरणको विषयमा चौतर्फी आलोचना भैरहेको छ । संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिदबिक्री तत्काल रोक्न निर्देशन दिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा पहिले जानकारी नगराइ अहिले आएर जानकारी गराउँछु भनेकाले कानुनी व्यवस्थाको परिपालना नगरिएको समितिको ठहर छ । 

यस सम्बन्धमा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ । यस्तै एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले छानबिन गर्ने तयारी पनि गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट विज्ञहरू सम्मिलित समिति गठन गर्ने तयारी भैरहेको हो ।

तपाईको प्रतिक्रिया