बझाङ, ४ मंसिर : बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।
पटकपटकको भुकम्पबाट त्रसित स्थानीयहरु अहिले भुकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ केन्द्रबिन्दु बनाएर गत असोज १६ गते ६. २ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार पराकम्प आइरहेका छन् । दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक वृद्धाको मृत्युसमेत भएको थियो।
केहि समय अघि भूकम्पले भौतिक तथा मानवीय क्षति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरू बझाङ पुगेका थिए। पछिल्लो समयमा पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिम प्रदेश उच्च भूकम्पीय जोखिमको खतरामा छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठुलो भूकम्प गएको छैन।