मिचेल मार्सको उत्कृष्ट ब्याटिङ मद्दतमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

  कार्तिक २५, २०८०

काठमाण्डौ, २५ कात्तिक : एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ ।  बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै जम्मा २ विकेट गुमाएर भेटायो । उसका मिचेल मार्सले नटआउट १ सय ७७ र स्टेभिन स्मिथले ६३ रन बनाए । डेविड वार्नर ५३ र ट्रेभिस हेड १० रनमा आउट भए ।

बंगलादेशका तस्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए । आजको हारपछि पनि बंगलादेशको शीर्ष आठ भित्र रहेर च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै छ ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २/२ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ।

तपाईको प्रतिक्रिया