बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा

  कार्तिक ०१, २०८०

बेलबारी (मोरङ), १ कात्तिक : बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा पनि दुवै टोलीले ४–४ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा ब्रिगेड ब्वाइजका लागि कुशल देउवाले गोल गर्न सफल भए ।

सडन डेथमा राजारानी क्लबका सुनिल खड्काको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर विशाल सुनारले रोकेका थिए । उनी प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भए ।

यसअघि ट्राइबेकरमा ब्रिगेडका लागि रोशन राना, एन्जल महर्जन, जय गुरुङ र अनिश तामाङले गोल गर्न सफल भएका थिए भने राजारानीका तर्फबाट नवयुग श्रेष्ठ, विवेक पौडेल, अभिषेक लिम्बू र देवेन्द्र तामाङले गोल गरेका थिए ।

यसअघि आयोजक डाँगीहाट युथ क्लब र सलहेस युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन् । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् ।

आज झापाको बिर्तामोड युथ क्लब र चर्च ब्वाइज क्लब, काठमाडौँबीच खेल हुनेछ । प्रतियोगिताको विबजेताले रु आठ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया