प्रधानसेनापति ट्रफी मध्यपृतना र जगदल गणलाई

  असोज ३०, २०८०

काठमाडौँ, ३० असोज : यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृनता र गणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आज आयोजित कार्यक्रममा उपत्यका पृनतापति र जगदल गणका गणपतिलाई ट्रफी एवं नगद पुरस्कार प्रदान गर्नुभयो ।

प्रथम हुने पृतना र गणलाई रु तीन/तीन लाख नगद पुरस्कार प्रदान गरियो । प्रतियोगिता समग्रमा पुरानो गोरख गण र १६ नं बाहिनी द्वितीय भए भने फष्ट राइफल गण र मध्यपूर्वी पृतना तृतीय घोषित भए ।

द्वितीय हुने गण र बाहिनीलाई रु एक–एक लाख नगद, ट्रफी तथा तृतीय हुने गण र पृतनालाई रु ५०–५० हजार नगद र ट्रफी प्रदान गरियो ।

प्रतियोगितामाअन्तर्गत आज भएको फुटबल खेलमा जगदल गण प्रथम भयो भने काली शक्ति गण इन्जिनियरिङ दोस्रो भयो । प्रतियोगितामा जगदल गणले १ का विरुद्ध २ गोल गरेको थियो । जगदल गणका दोरिन्द्रविक्रम ढुङ्गाना र सन्जोग दुराले १/१ गोल गर्नुभयो भने काली शक्ति गणका अमृत दराईले १ गोल गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने गणलाई क्रमशः रु एक लाख र रु ५० हजार नगद ट्रफी र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा तेस्रो घोषित देवीदल गणलाई रु ३० हजार नगर र प्रमाणपत्र प्रदान गरियो । समारोहमा उत्कृष्ट खेलाडी, प्रशिक्षण र निर्णायकलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

उहाँहरुलाई वलाधक्षरथी सीताराम खड्का तथा पूर्वप्रधानसेनापतित्रय प्यारजङ्ग थापा, राजेन्द्र थापा र पूर्णचन्द्र थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केट बल र फुटबल विधा समावेश थिए ।

समापन अवसरमा बलाध्यक्ष खड्काले ‘स्वास्थ्यका लागि खेल’ र ‘राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ भएको प्रतियोगितामार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका प्रतिभावान खेलाडी उत्पादन र पहिचान गर्ने ध्येय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदमार्फत व्यक्तिगत र संस्थागत अनुशासन कायम गर्न प्रतियोगिताले निरन्तर सहयोग पु¥याउने नै छ ।” तेह्र दिनसम्म सञ्चालन भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक र निर्णायक गरी दुई हजार पाँच सयको सहभागिता रहेको सो अवसरमा जानकारी दिइयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेल क्षेत्रका च्याम्पियन टिम हो ।

सो अवसरमा प्रतियोगिताअन्तर्गत ४२ किमी एथलेक्टिसका विजयी मोहनदेव जोशी र १० किमी दौड प्रतियोगिताका विजयी खड्गबहादुर खड्कालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विधामार्फत उच्च योगदान पुर्‍याउने कीर्तिमानी खेलाडी दीपक अधिकारी र राष्ट्रिय महिला फुटबल खेलाडी विमला चौधरीलाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

तपाईको प्रतिक्रिया