महाकाली किनारमा बिचभलिबल प्रतियोगिता

  असोज ३०, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), ३० असोज : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ,“खेलकुद राष्ट्र र स्वास्थ्यका लागि मात्रै नभइ पर्यटनमा समेत टेवा पुर्याउँछ । यस्ता प्रतियोगिता भइराख्नुपर्छ ।”

कञ्चनपुर जिल्ला भलिबल सङ्घ र नेपाली सेनाद्वारा संयुक्तरूपमा आयोजित सो प्रतियोगिता अगामी कात्तिक १ गतेसम्म जारी रहनेछ ।

प्रतियोगिताका ३२ टिमको सहभागिता रहेको छ । खुला तथा भेट्रानबीच पुरुष भलिबल प्रतियोगिता अन्तर्गत खुलातर्फ २३ टिमको र भेट्रानतर्फ नौ टिमको सहभागिता छ ।

खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार तथा भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः रु २५, १५ र १० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् ।

शुभारम्भका अवसरमा श्री नम्बर २५ बाहिन अड्डा भगतपुर ब्यारेकका बाहिनीपति मनोज थापा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया