दसैंका लागि अग्रिम टिकट : पाँच दिनमा ९५ हजारले लिए

  असोज २७, २०८०

काठमाडौं, २७ असोज : अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् । काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले अग्रिम टिकट लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बताउनुभयो ।

अग्रिम रुपमा काटिएका टिकटहरुमध्ये २० प्रतिशत अनलाइनबाट बुकिङ् भएको उहाँको भनाइ छ । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षितगरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

नयाँ बसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदैआएका छन् । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्षितगरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको जनाएको छ ।

यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले बसिरहेकाहरु घर जानका लागि टिकट काटिरहेका छन् । नयाँ बसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया