पर्वतका मुख्य छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

  असोज २६, २०८०

पर्वत, २६ असोज : चाडबाड नजिकिँदै जाँदा सवारी साधनमा यात्रुहरुको असुविधालाई दृष्टिगत गर्दै पर्वतका मुख्य छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने गरिएको छ ।

मध्यपहाडी लोकमार्गमा तीन, कालीगण्डकी करिडोरका एक र ग्रामीण सडकमा दुई गरी छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार चाडपर्वका बेलामा यात्रुहरूको चहलपहल बढ्दा सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी साधन र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानका लागि जिल्लाका सबै क्षेत्रलाई समेट्ने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

निउरेका अनुसार कुश्मा बजारको शिवालयचोक, पर्वत र बागलुङको सिमाना मालढुङ्गा र पर्वत तथा कास्कीको सिमाना नजिकै डिमुवामा शुक्रबारदेखि सहायता कक्ष स्थापना गरिएको छ । त्यसैगरी, अस्थायी ट्राफिक प्रहरी पोस्ट हुवासले हेर्ने गरी पैयुँ गाउँपालिका–४ हातेमालो बजारमा, मिलनचोक ट्राफिकले हेर्ने गरी जलजला गाउँपालिका–३ वारिबेनीमा र फलेवास ट्राफिकले हेर्ने गरी फलेवास नगरपालिका–५ खानिगाउँमा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडबाडको आवागमनसँगै सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्रुहरु ठगिने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यसायीका प्रतिनिधि रहने भएका छन् । क्षमताभन्दा बढी यात्रु सवारी साधनमा चढाएमा, यात्रुहरुबाट बढी भाडा लिएमा, यात्रुका कुनै सामान हराएमा वा साटफेर भएमा तथा अन्य कुनै अन्यायमा परेमा तत्काल यात्रु सहायता कक्षमा आएर उजुरी दिनसक्ने भएका छन् । उक्त नागरिक सहायता केन्द्र छठ पर्वसम्म जारी रहने भएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड तथा म्याग्दी– मुस्ताङ सडक र ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरुमा व्यवसायीहरुले गर्ने अनियमितता विरुद्ध तत्काल कारबाही गर्नका लागि उक्त सहायता कक्षको ठूलो भूमिका रहने प्रनाउ भुसालले बताउनुभयो । पर्वत सदरमुकाम हुँदै दैनिकजसो झण्डै एक हजारभन्दा बढी सवारी साधनहरु आवतजावत गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक खुमलाल भुसाल, कुश्मा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी लगायतको उपस्थितिमा जिल्लामा रहेका विभिन्न यातायात प्रालिका प्रमुख तथा प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, चालक, परिचालक, स्थानीय नागरिक लगायतको उपस्थितिमा सहायता कक्षहरूको सुरुवात गरिएको हो । (रासस)

तपाईको प्रतिक्रिया