काठमाडौं, २४ असोज : सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले राति ११ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल जाने निर्णय गरेको हो ।
त्यस्तै इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान आज राति इजरायलतर्फ प्रस्थान गर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उद्धार उडान इजरायलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको राससले जनाएको छ ।
मन्त्री गुरुङले भन्नुभयो, ‘आज विशेष गरेर इजरायलमा भएको दुःखद् घटनाको सन्दर्भमा सरकारले सुरुदेखि नै पहल गरिरहेको छ । त्यस घटनाका सन्दर्भमा विशेष गरी नेपाल आउन चाहने नेपालीलाई लिनका लागि आज लगभग ११ बजे नेपालबाट नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री स्वयं त्यस जहाजमा जाने र नेपालीलाई लिएर आउने । अब आउन पाइन भन्ने भन्दा पनि नेपाली लिएर आउने । त्यहाँबाट आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको टिकटको भाडा पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ ।’
इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरूको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने बताउनु भयो । मङ्गलबार परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार, उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरूले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् ।
विवरण दिनेमध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् । इजरायलमा निधन भएका १० नेपालीको शव भने यस जहाजमा ल्याइने छैन ।






