प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन

  असोज २४, २०८०

गण्डकी, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले आयोगको आव २०७९-८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

कार्यालय प्रमुख तिमल्सिनाले आव २०७९-८० मा छानबिनमा रहेका कूल एक हजार चार सय ४२ उजुरीमध्ये नौ सय ७८ उजुरी (६७ दशमलव ८२ प्रतिशत) फछ्र्यौट भई चालु आवका लागि चार सय ६४ उजरी जिम्मेवारी सरेर आएको जानकारी दिनुभयो । उजुरी परेका क्षेत्रमध्ये सङ्घीय मामिला (स्थानीय तहसमेत) का ३५ दशमलव ९५ प्रतिशत, शिक्षा (स्थानीय तह समेतका) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित छ दशमलव ९ प्रतिशतलगायत रहेको उहाँको भनाइ थियो ।

आर्थिक वर्ष २०७९-८० मा विस्तृत अनुसन्धानबाट भएको कारबाहीअन्तर्गत एक सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको कार्यालय प्रमुख तिमल्सिनाले बताउनुभयो । दायर मुद्दामध्ये सबैभन्दा बढी ६४ मुद्दा गैरकानुनी लाभहानीसंग सम्बन्धित थियोे ।

प्रदेश प्रमुख गुरुङले सबै आधार जुटाएर कारबाही बढाउनुपर्ने कार्य चुनौतीपूर्ण भए पनि संविधान र व्यवस्थाप्रति जनताको आस्था जगाउने गरी काममा क्रियाशील हुन आग्रह गर्नुभयो । (रासस)

तपाईको प्रतिक्रिया