विश्वकप क्रिकेट : भारतसामु दुई सय रनको लक्ष्य

  असोज २१, २०८०

काठमाडौँ, २१ असोज : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत अहिले भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ । अष्ट्रेलियाले भारतसामु जितका लागि दुई सय रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गरेर ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७१ बलमा पाँच चौका प्रहार गरे । यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुई÷दुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए ।

अहिले भारतले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्म भारतले १३ ओभरमा तीन विकेटको क्षतिमा ३८ रन बनाएको छ । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका छन् ।

तपाईको प्रतिक्रिया