शान्ति तथा सद्भावका लागि संवाद

  असोज २१, २०८०

शुक्रऋषि चौलागाई
काठमाडौँ, २१ असोज : शान्ति, सुरक्षा सबैको चासो र चिन्ताको विषय पनि हो । शान्ति बिना कुनै पनि विकास र सहज जीवनयापन सम्भव छैन । शान्ति नचाहने विरलै होलान् तर पनि कुनै न कुनै बहाना या स्वरुपमा समाजमा अशान्ति मच्चाउने प्रयास भइरहेकै हुन्छ । शान्ति, सुरक्षा कायम गर्ने प्रमुख दायित्व राज्यको नै हो । तथापि, उसको मात्र कर्तव्य भने कदापि होइन । सुरक्षा प्रदान गर्ने, सहज वातावरण बनाउने काम प्रत्यक्ष रुपमा राज्यका संयन्त्रसँग सम्बन्धित छ भने शान्ति, सद्भाव आमनागरिक र तिनको भावनासँग जोडिएको छ ।

नागरिकको जीउधनको सुरक्षा गर्ने काम राज्यको नै भएपनि नागरिक पनि चुप लागेर बस्न भने मिल्दैन । पछिल्लो चरण समाज अनेकन नाममा विवादित र विभाजित बन्न खोजिरहेको छ । केही दिनदेखि नेपालगञ्ज अशान्त छ । स्थानीय प्रशासनले शान्ति, सुरक्षा र सद्भाव कायम गर्ने प्रयास जारी राखेको छ । सद्भाव कायमका लागि प्रमुख राजनीतिक दलदेखि नागरिक समाज पनि अग्रसर छन् ।

नेपालगञ्जको पछिल्लो घटनाक्रम उल्लेख गरेर घाउ कोट्याउन खोजिएको होइन तर यस्ता घटना किन हुन्छन् ? यसबाट कसलाई के फाइदा हुन्छ ? हामीले विगतबाट के सिक्यौँ ? के सिक्न जरुरी छ ? भन्ने कुरा चाहिँ उल्लेख गर्न आवश्यक छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको व्यक्तिगत विचार र प्रतिक्रियाबाट सुरु विवाद हिंसात्मक झडपमा परिणत भएको देखिन्छ । दुई समूहबीचको झडपपछि अशान्त बनेको नेपालगञ्ज अब बिस्तारै सामान्यीकरण हुँदैछ । असोज १६ गते ओमकार परिवार नेपालगञ्जको आह्वानमा प्रदर्शन गरियो । अर्को समूहबाट ढुङ्गा प्रहार भएपछि स्थिति झडपमा परिणत भएको बताइन्छ ।

त्यसअघि सोही दिन बिहान ८ बजे स्थानीय प्रशासनकै अगुवाइमा सद्भाव ¥यालीसमेत प्रदर्शन गरिएको थियो । असोज ११ गते अर्थात मोहम्मद डेको दिन नैरनापुरका एक हिन्दू युवाले अर्को समुदाय (मुस्लिम) लक्षित ‘स्टाटस’ लेखे । यसको प्रतिक्रियास्वरुप नेपालगञ्जका एक वडाध्यक्षले हिन्दू लक्षित ‘स्टाटस’ लेखेपछि विवाद बढ्न पुगेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार तिनै वडाध्यक्षको नेतृत्वमा असोज १४ गते नेपालगञ्जमा प्रदर्शन भयो । प्रशासन घेराउ गर्दै उग्रता प्रकट गरिएपछि हिन्दूहरु थप आक्रोशित भए ।

फलस्वरुप हिन्दूवादीले १६ गते बन्द आह्वान गरे तर बन्द नगर्न आह्वानसहित प्रशासनले सर्वपक्षीय भेला डाकेर सद्भाव ¥याली निकाल्ने निर्णय ग¥यो । यो निर्णयलाई हिन्दूहरुले पूर्ण रुपमा स्वीकार्न सकेनन् । त्यही दिन ठूलो सङ्ख्याको उपस्थितिमा विरोध प्रदर्शन भयो । यसै क्रममा विपीचोक क्षेत्रमा एकापसमा झडप भयो । तोडफोड र धनमाल क्षति पनि भयो । थप तनाव बढने भएपछि प्रशासनले निशेषज्ञा लगायो । तर यी सबै घटनाक्रम किन भए ? कसको स्वार्थमा भए ? अझै वास्तविकता खुलेको छैन ।

कसैले स्टाटस लेखेकै भरमा सडक प्रदर्शन हुनु आफैँमा हाम्रो समाजको सोच र बौद्धिकताको मापन गर्छ । कहिलेकाहीँ नेपालगञ्ज स–साना कुरामा पनि उत्ताउलो र अराजक भइदिन्छ भन्ने कुराको यो गतिलो उदाहरण पनि हो । भारतसँग जोडिएको बहुधर्म÷बहुभाषी बसोबास नेपालगञ्ज संवेदनशील सहर हो । नेपालगञ्जमा विभिन्न धर्मावलम्बीहरु बस्ने गर्दछन् । यहाँ हिन्दू, मुस्लिम, क्रिश्चियन, बौद्ध, सिख धर्म मान्ने व्यक्तिहरु छन् । बेलाबेला यहाँ जाति, समुदाय, धर्मका नाममा उच्छशृङ्खल, अराजक र साम्प्रदायिक सदभाव भड्काउने गतिविधि हुने गर्दछन् । नेपालगञ्जमा २०५३ र २०६३ सालमा पनि यस्तै अशान्ति भयो । यसपटक पनि ंिहंसात्मक बनाउन खोजिएको थियो । हिंसाले जात, धर्म हेर्दैन । उसले पु¥याउने भनेको क्षति, दुःख कष्ट नै हो भन्ने कुरा नेपालगञ्जवासीले नबझेका हैनन् । तर पनि घटना पुनरावृत्ति हुनु दुःखदसँगै चिन्तनीय छ । तत्कालका लागि शान्तिसुरक्षाको स्थिति सुदृढ नै देखिए पनि एकखालको त्रास भने यथावत् नै छ ।

संवादको पहल

शान्तिसुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको नै हो । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखको सम्भावित द्वन्द्वप्रतिको सचेतता, तयारी र सुझबुझपूर्ण निर्णय र कार्यनीतिले नै यस्ता खाले विवाद, झडप र हिंसात्मक गतिविधि नियन्त्रण हुने हुन् । ¥याली प्रदर्शनलाई प्रहरी÷प्रशासनले सुरुमा सामान्य रुपमा बुझ्नुबाहेक थप हिंसा र क्षति हुनबाट भने जोगाएकै हो । शान्तिसुरक्षाका लागि आफनो सुरक्षा रणनीति र बलबुताले मात्र हैन, स्थानीय प्रशासनले नागरिक समाज र विभिन्न सङ्घसंस्थाबाट पनि सल्लाह, सहयोग लिन आवश्यक छ । सुरक्षा बढाएर, निषेधाज्ञा लगाएरमात्र शान्तिसुरक्षा र सद्भाव कायम हुन्छ भन्ने पक्षमा सुरक्षा अधिकारी पनि छैनन् । पछिल्लो चरण स्थानीय प्रशासनले शान्ति, सद्भावका लागि समाजका विशिष्ट व्यक्तित्वसँग संवाद, परामर्श र सहकार्यलाई बढाएको छ ।

नजिकिँदो चाडपर्वलाई मध्यनजर गरेर पनि संवाद थालनी गरिँदैछ । अधिकारकर्मी, उद्योगी व्यवसायी अगुवा, नागरिक समाजका अगुवा र बुद्धिजीवीसँगको नियमित छलफलले शान्ति, सद्भावका पक्षमा माहोल सिर्जना गरेको छ । विभिन्न धर्मगुरुसँग सल्लाह, सुझाव र साथ लिँदै आइएकोे छ । आन्दोलनको अगुवाइ गर्ने व्यक्ति र सङ्घ सङ्गठनसँग पनि संवाद गरेरै सहज वातावरण बनाइनु पर्छ भन्ने बुझाइ छ । समाजमा संवादको वातावरण बनाउनु, सर्व धर्म सम भाव पैदा गर्नु, आध्यात्मिक चिन्तन अभिृवृद्धि गर्नु, सामाजिक सद्भाव कायम गर्नु र शान्तिमय वातावरण बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो ।

अझै बढ्दो जिम्मेवारी

कसैको एकल पहलले मात्र शान्ति, सद्भाव सम्भव छैन । हामी स्वयं आफ्ना लागिमात्र नभई समाजको सुरक्षा र विकासका लागि क्रियाशिल र जिम्मेवार बन्नु पर्दछ । समाजमा हुने हरेक घटनाको प्रथम प्रत्यक्षदर्शी र भुक्तभोगी नागरिक नै हो । तसर्थ नागरिकको भूमिका पनि कम आँक्न हुँदैन । त्यसमाथि नागरिक अगुवाको भूमिका त झनै हुने गर्दछ । शान्तिसुरक्षाका लागि प्रहरीलाई जनताको सधैँ साथ र सहयोग चाहिन्छ । प्रहरीलाई जनताले सही समयमा सही सूचना दिनसके आधा घटना (हिंसा) कम हुने प्रहरीको विश्वास छ । प्रहरीले पनि जनतासँग सुमधुर सम्बन्ध राख्ने, सूचना आदानप्रदान गर्ने, जनतासँग समन्वय र सहकार्य गर्ने संस्कार बसाल्न जरुरी छ ।

हालैका दुवै प्रदर्शनमा किशोरहरुको उल्लेख्य सहभागिता देखिनुलाई हामीले संवेदनशील रुपमा बुझ्नुपर्ने हुन्छ । उनीहरु साँच्चिकै विषयवस्तु बुझेर लागेका हुन् या कसैको बहकाउमा लागेर आएका हुन् ? यसले के प्रस्टयाउँछ भने अब युवा÷विद्यार्थीलाई लक्षित गरेर धार्मिक, आध्यात्मिक र सद्भाव शिक्षा दिन जरुरी छ । विद्यार्थीका सङ्घ सङ्गठन, युवा क्लब, युवाका विभिन्न सङ्घ सङ्गठनमा आबद्धहरुलाई सद्भाव शिक्षा र संवाद संस्कृतिबारे शिक्षा दिइनुपर्ने देखिन्छ । नेपालगञ्जमा विभिन्न धर्मावलम्बीका मानिस बस्ने गर्दछन् । उनीहरु हिन्दू, मुस्लिम, क्रिश्चियन, बौद्ध, सिख धर्मका अनुयायीहरु हुन् । यहाँ विभिन्न धर्मका धर्मगुरुहरु पनि छन् । तथापि उहाँहरुको भूमिका धर्मको दायरामा मात्र सीमित छैन । धर्मगुरुले शान्ति, सुरक्षा, सद्भाव कायममा अनेकन भूमिका र जिम्मेवारी निर्वाह गर्दै आएका छन् । धर्मगुरुहरु अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चमार्फत पनि शान्ति, सद्भाव कायममा क्रियाशील छन् ।

प्रत्येक धर्मको मूल धर्म मानव धर्म नै हो । तथापि कतिपय क्षेत्रमा धर्मकै नाममा युद्ध पनि हुुने गर्दछन् । धर्म र समुदायका नाममा हुने र हुन सक्ने उच्छशृङ्खल, अराजक र साम्प्रदायिक सद्भाव भड्काउविरुद्ध धर्मगुरु एकजुट हुनु यस क्षेत्रका लागि सुखद पक्ष हो । शान्ति, सद्भाव अभिवृद्धिमा उनीहरुको भूमिका प्रशंसनीय छ । प्रत्येक धर्मको मूल धर्म मानव धर्म नै हो । हरेक धर्म, वर्ग र समुदायबीचमा आपसी मेलमिलाप, सद्भाव, एकता र पे्रम प्रस्फुटन गराउनुपर्ने आवश्यकता पनि छ । समाजमा अनेक खाले भ्रम र अफवाह पनि फैलाइने गरिन्छ । धार्मिक विवाद र द्वन्द्वका बेला सञ्चारकर्मी र सञ्चारमाध्यम झन सम्बेदनशील र जिम्मेवार बन्नुपर्छ । विगतको पाठ सिक्दै नेपालगञ्जवासी फेरि पनि शान्ति, सद्भाव र भाइचाराको वातावरण बनाउन सदैव जुटिरहेका छन्, जुटिरहने छन् । अन्तमा ‘त्यही मानिस धार्मिक हो, जसले अर्का लागि त्याग गर्न सक्छ’, भगवान गौतम बुद्धले भने झैं त्यही असल काम हो जसले धैरैलाई शान्ति र फाइदा हुन्छ । (लेखक नेपालगञ्जमा क्रियाशील पत्रकार हुनुहुन्छ)(रासस)

तपाईको प्रतिक्रिया