वालिङ (स्याङ्जा) १८ असोज : गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले आज दमाइडाँडाको पहिरो प्रभावित वस्ती अवलोकन गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको दमाइडाँडामा अविरल वर्षासँगै तीन घरमा क्षति पुगेको छ । पहिराले क्षति पुगेका तीन वटै घर छाडेर आफन्तको आश्रय लिएर बसिरहेका छन् ।
छ घर रहेको उक्त वस्तीमा तीन घरमा पहिराले क्षति पुर्याएपछि मन्त्री तिवारीसहित स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, वालिङ नगर उपप्रमुख कविता तिवारी गैरे, पूर्वनगर प्रमुख दिलीपप्रताप खाँण लगायतले पहिरो प्रभावित वस्तीको अनुगमन गरी वस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
विसं २०७७ मा उक्त वस्तीमा धाँजा फाटेपछि भूगर्भविद्ले भौगर्भिक अध्ययन गरी बस्न उपयुक्त नभएको प्रतिवेदन दिएको थियो । जोखिममा रहेको वस्तीलाई स्थानान्तरण गरी दीर्घकालीन समाधान गर्न आफू लागिपर्ने उहाँले बताउनुभयो । केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै वस्ती स्थानान्तरण गर्नका लागि यसअघि खरिद गरिएको जग्गामा घर निर्माण प्रक्रिया थाल्न पहल गर्ने उहाँले बताउनुभयो ।
प्रभावित तीन घर परिवारलाई जिल्ला विपद् कोषबाट प्रतिपरिवार १५ हजार नगद प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराउनुभयो । जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाले पहिरो प्रभावित तीन परिवारलाई तत्काल आवश्यक पर्ने भाँडाकुँडा, त्रिपाल उपलब्ध गराएको सभापति दिनेश अर्यालले बताउनुभयो ।
जोखिममा रहेको वस्तीलाई अन्यत्रै स्थानान्तरण गर्न तत्कालीन अवस्थामा वालिङ नगरपालिकाले जग्गा खरिद गरी प्रभावितलाई लालपूर्जासमेत उपलब्ध गराएको थियो । जिल्ला विपद् कोषबाट रकम आउने र भुक्तानी लिने गरी जग्गाधनीले रजिष्ट्रेशन पास गरिदिए पनि हालसम्म जग्गाधनी दलबहादुर बस्नेतले रकम नपाएको दुखेसो गर्नुभयो । “कि मेरो जग्गाको पैसा दिनुहोस् होइन भने मेरो जग्गा फिर्ता दिनुहोस्”, जग्गाधनी बस्नेतले भन्नुभयो ।
जिल्ला विपद् कोषका संयोजक प्रमुख जिल्ला अधिकारी घिमिरेले दोहोरो सुविधा दिन नमिल्ने बताउनुभयो । उक्त वस्तीमा यसअघि भूकम्प पुनःनिर्माण प्राधिकरणबाट पनि घर बनाउन रकम दिइएको तर घर सम्पन्न नगरी रकमको दुरुपयोग गरेको र प्रभावित परिवारमध्ये केहीको आफ्नै नाममा जग्गा रहेकाले कार्यविधिअनुसार मेल नखाएकाले समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।






