काठमाडौँ, १८ असोज : भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँहरूले सरकारी कामकाजको भाषासम्बन्धी पहिले भएका सिफारिसहरूमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गर्नुभएको थियो । सो क्रममा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो ।
आजै नेपाल ट्रष्टका पदाधिकारीले ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायतको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानीसम्बन्धी आफूहरूको मागमा कुनै सुनुवाइ नभएको भन्दै उहाँहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताउनुभएको थियो ।