१९औं एसियाली खेलकुद : भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

  असोज १६, २०८०

हाङझाउ, १६ असोज : १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा जितका लागि भारतले नेपाललाई दुई सय तीन (२०३) रनको लक्ष्य दिएको छ ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मङ्गलबार टस टिजेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई (२०२) रन बनायो ।

भारतका लागि यशस्वी जैसवालले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४९ बलमा आठ चौका र सात छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । रिन्कु सिंहले अविजित ३७, कप्तान रुतुराज गायकवाडले २५ र शविम् दुवेले अविजित २५ रन बनाउनुभयो ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिनुभयो । सोमपाल कामी, सन्दीप लामिछाने एक एक विकेट लिनुभयो ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो । एकदिवसीय क्रिकेटमा भने नेपालले एक महिना अघिमात्र एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । त्यतिवेला भारतसँग उत्कृष्ट ब्याटिङ गरेको नेपालको चर्चा विश्वभर चुलिएको थियो ।

विश्वकपको कारण भारतले यसपटक एसियाडमा दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको छ । भारतविरुद्ध आज नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकेमा क्रिकेटमा पनि नेपालको पदक जित्ने सम्भावना रहनेछ ।

एसियाड क्रिकेटको समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया