१९औं एसियाली खेलकुद : नेपाल भारतविरद्ध पहिले फिल्डिङमा

  असोज १६, २०८०

हाङझाउ, १६ असोज : १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मङ्गलबार बिहान भारतले टस टिजेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो । 

नेपालले एक महिना अघिमात्र एकदिवसीय एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । त्यतिवेला भारतसँग उत्कृष्ट ब्याटिङ गरेको नेपालको चर्चा विश्वभर चुलिएको थियो ।

विश्वकपको कारण भारतले यसपटक एसियाडमा दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको छ । भारतविरुद्ध आज नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकेमा क्रिकेटमा पनि नेपालको पदक जित्ने सम्भावना रहनेछ ।

एसियाड क्रिकेटको समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराएको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया