मधेसमा शिक्षाको गुणस्तर ओरालो लाग्नु चिन्ताको विषय : सभामुख मण्डल

  भदौ ३०, २०८०

धनुषा, ३० भदौ : मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मधेसमा शिक्षाको गुणस्तर निरन्तर ओरालो लागेको भन्दै सुधार आवश्यक भएको बताउनुभएको छ ।

एनप्याब्सन धनुषाको नवौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटनमा सभामुख मण्डलले प्रदेशमा शिक्षाको गुणस्तर निरन्तर ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै शिक्षामा सुधार गर्नका लागि निजी विद्यालयले पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले शिक्षासम्बन्धी विधेयक सबैको हित तथा शिक्षाको गुणस्तरमा सुधार हुने गरी आउनुपर्ने धारणा राख्दै गुणस्तरीय शिक्षाको बिना मुलुकको विकास र समृद्धिको यात्रा कठिन हुने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले शिक्षाको विकास तथा सुधारबिना कुनै क्षेत्रको विकास नहुने भन्दै उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।

एनप्याब्सनका सहअध्यक्ष सुभास न्यौपानेले संस्थागत विद्यालय सरकारी निर्देशनको पालना गर्न तयार भएको बताउनुभयो । एन प्याब्सन मधेश प्रदेशका अध्यक्ष डा नन्दन यादवले आउन लागेको सङ्घीय शिक्षा ऐन वर्तमान अवस्थामा आफूहरूले स्वीकार गर्न नसक्ने भएकाले यसको विरोध गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया