संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने मन्त्रिपरिषद्को निर्णय

  भदौ २९, २०८०

काठमाडौं, २९ भदौ : सरकारले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो । 

‘‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने’’, मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ । 

त्यसैगरी, सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ । यस्तै, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय पनि भएको छ । 

यसैगरी, बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने गरेको छ । सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको न्यायिक समस्या स्थायी रुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया