बोगटी र सुवेदीलाई एनएसजेएफ सम्मान

  भदौ २७, २०८०

काठमाडौं, २७ भदौ : एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार मुकुन्द बोगटी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका खेल पत्रकार रमेश सुवेदी सम्मानित हुनुभएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा बुधबार पत्रकारद्वयलाई सम्मान गरेको हो । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।

पत्रकारद्वयलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईलगायतले सम्मान गर्नुभयो । वरिष्ठ पत्रकार बोगटीलाई २५ हजार रुपियाँ, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरियो । यस्तै युवा पत्रकार सुवेदीलाई  ल्यापटप र ताम्रपत्रबाट सम्मान गरियो । 

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को सभापतित्वमा सम्पन्न कार्यक्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी, एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी लगायतको उपस्थिति रहेको थियो । अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० जना र सुमन बम्जन युवा पत्रकारिताबाट पाँच जना सम्मानित भइसकेका छन् । 

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई राखेप सदस्यसचिव घिसिङले ट्रफी प्रदान गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया