अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

  भदौ २६, २०८०


काठमाडौँ, २६ भदौ : नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ । कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन् । यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ ।

यही भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को पहिलो प्रदर्शनी भयो । जसमा कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठ सहभागी हुनुभयो । उहाँहरूले आफ्नो चलचित्रको विषयमा स्थानीय मिडियालाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग साक्षात्कार गर्नुभयो ।

महोत्सव अन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएर प्रदर्शन भएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कथालाई विश्वका चलचित्रकर्मीले हेर्नुभयो । उहाँहरूको नेपाली चलचित्रप्रतिको सोच सकारात्मक भएको पायौँ । चलचित्रको माध्यमले कला र संस्कृतिको प्रवद्र्धधन भएको छ ।”

उहाँले चलचित्रमा पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उक्त यात्रासँगै देशको आर्थिक, राजनीतिसँग परिचित हुने निर्देशक देवकोटाको भनाइ थियो ।

यस्तै, चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी (प्रिमियर) भएको छ । भदौ २१ गते सुरू भएको महोत्सव ३१ गतेसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्रको प्रदर्शनीमा कलाकार दयाहाङ राई र पशुपति राई सहभागी हुनुभएको थियो ।

चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा मोटरेबल सडकको पहुँच भएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली प्रदर्शन हुनु सकारात्मक भएको बताउनुभयो ।

अभिनेता राईले गाउँको भोगाइलाई पात्रमार्फत बाँच्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय दैनिकीबाट हटेको गाउँको जनजीवनमार्फत समस्या र भोगाइलाई प्रस्तुत गरेका छौँ । विकासको प्रक्रियाले आम मानिसलाई न्याय नगरेको अवस्था छ । यस्तै सेरोफेरोमा चलचित्र तयार भएको छ ।”

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्गी’ नै अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि उहाँद्वारा निर्देशित ‘नुमाफुङ’ चलचित्र फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायतका अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।

चलचित्रमा प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गर्नुभएको छ । महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रमा जोस हेरमले छायाङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लीले सङ्गीत भर्नुभएको छ । (रासस)