भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान

  भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनशिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौल समूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिनुभयो ।

विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा एक सय २४ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । एक सय २३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९औँ एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।

विकासले क्लिन एन्ड जर्कमा एक सय ४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम गरे । यसअघि उनले १९औँ एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा एक सय ४७ केजीको कीर्तिमान रचेका थिए । कुलमा उनले उठाएको दुई सय ७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा दुई सय ७० केजीको कीर्तिमान थियो । विकास १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासङ्घको कङ्ग्रेसमा सहभागी हुन आजै रियाद प्रस्थान गर्नुभएको छ । श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि आजै रियाद प्रस्थान गर्नुभयो । सागरले पुरुष एक सय नौ केजीमा प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनशिपमा सहभागिता जनाएको हो ।

तपाईको प्रतिक्रिया