हेटौँडा, १६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानअन्तर्गत आज उद्घाटनको दिन मकवानपुर जिल्लास्थित विभिन्न पालिकाहरुमा श्रमदान, सहिद परिवार सम्मान र विकास निर्माण कार्य गरेको छ । माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उद्घाटन गर्ने क्रममा केन्द्रीय सदस्य जनतासँग श्रमदानमा जोडिएका हुन् ।
मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बागमती गाउँपालिका–७ कमिटीले चौरा आधारभूत विद्यालयका लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गर्नुको साथै तीर्थकुमारी श्रेष्ठको खेतमा धान गोडेको पार्टीका मकवानपुर संयोजक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । यसका साथै अन्य वडामा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उहाँले बताउनुभयो ।
यता, भीमफेदी गाउँपालिकामा भने त्रिभुवन राजमार्गमा पहिरो पन्छाउने काम गरिएको पार्टीका पालिका अध्यक्ष बद्री स्याङ्तानले जानकारी दिनुभयो । थाहा नगरपालिकामा माओवादी केन्द्रले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने, अन्तरक्रिया गर्ने, जनताले चाहेको माओवादी रुपान्तरणका विषयमा जनतालाई सोध्ने लगायत काम गरेको माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद लामाले जानकारी दिनुभयो ।
त्यसैगरी राक्सीराङ गाउँपालिकाले कमिटीले वडा ५ स्थित विर्षे खोलामा आवतजावतमा बाधा पुगेका कारण ह्युमपाइप हालिएको पार्टीका पालिका इञ्चार्ज एवं गाउँपालिका उपाध्यक्ष वनस्थम थिङले जनाउनुभयो । माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्नेलगायत काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिनुभयो ।






