पानीको मुहान संरक्षण गर्दा बन्यो पर्यटकीयस्थल

  भदौ ०१, २०८०

झापा, १ भदौ : सानो लगानी जुटाएर सिमसार खेतको पानीको मुहानलाई धार्मिक सौन्दर्यकरण गर्दा मेचीनगर नगरपालिका वडा नं १ हिलेधापमा आकर्षक पर्यटकीयस्थल निर्माण भएको छ ।

हिउँद तथा बर्खामा कलकल बगिरहने हिलेधाप सिमसारको मुहानलाई संरक्षण गरेर नागधारा र नागदेवीको मन्दिर बनाउँदा सो स्थान धार्मिक क्षेत्रमा परिणत भएको हो । स्थानीयले सिमसारलाई धार्मिक पर्यटकीयस्थल बनाउने परियोजना अघि सारेपछि मेचीनगर वडा नं १ ले रु चार लाख बजेट विनियोजन गरेको थियो ।

मुहानको पानीलाई पोखरीमा सङ्कलन गरेर नागदेवीको कलात्मक ४९ धारा निर्माण गरेर नजिकै मनसा नागदेवीको मन्दिर निर्माण गरिएको छ । मन्दिर र धारा निर्माण भएलगत्तै सो स्थल ‘मनसा नागदेवी धार्मिक क्षेत्र’का रुपमा प्रसिद्ध भएको सो धार्मिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष महिन्द्र मल्लले बताउनुभयो ।

मेचीनगर–१ को वडा कार्यालयले दिएको रु चार लाख, नगरपालिकाको रु २५ हजार र स्थानीयको सहयोगबाट नयाँ धार्मिक पर्यटकीय क्षेत्रको निर्माण भएको उहाँले बताउनुभयो । हाल नागदेवीको मन्दिरमा पूजाअर्चना गर्न र ४९ धारामा पितृमोक्षका लागि नुहाउन आउने भक्तजनको भीड लाग्न थालेको छ ।

नगरपालिकाको प्रशासनिक केन्द्र इँटाभट्टास्थित पूर्वपश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तर साविक बाहुनडाँगी क्षेत्रमा रहेको सो क्षेत्र वरपर श्रीकृष्णथुम्की, एक सय आठ शिवलिङ्ग, ‘मिनी माउन्टेन पिकनिक स्पट’, समावेशी गुरुकुलजस्ता धार्मिक एवं पर्यटकीय आकर्षणका अरु स्थानसमेत छन् ।

आधा दर्जनभन्दा बढी पर्यटकीयस्थल पाँच किलोमिटर वरपर छरिएर रहेको हुँदा स्थानीय टेम्पो लगायतका साना सवारी साधनले प्रति पर्यटक रु तीन सय भाडा लिएर सबै धार्मिकस्थलको अवलोकन गराउने सुविधा मिलाएका छन् । “पहिले यहाँ हिलेधाप नामले चिनिने माथितिर पानीको मुहान र तलतिर खेती थियो”, अध्यक्ष मल्लले भन्नुभयो, “मुहानमा प्रशस्त माछा हुन्थे, माछा लगायतका जलचर मासिँदै गएपछि संरक्षण गर्ने र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यो ठाउँलाई धार्मिक दृष्टिले विकास गरिएको हो ।”

उहाँका अनुसार स्थानीय एक व्यक्तिले मुहानका माछा घरमा ल्याउँदा परिवारका सदस्य बिरामी परेको र धामीले त्यो माछा मुहानमै लगेर छाडिदिए मात्र बिरामी निको हुने बताएको किंवदन्ती छ । धामीको कुरा पत्याएर माछालाई मुहानमै छाडिदिएपछि ती परिवारका सबै सदस्य स्वस्थ भएको हुँदा मुहानमा नागदेवीको शक्ति रहेको स्थानीयले विश्वास गर्दै आएका छन् । अहिले सोही ठाउँमा मनसा नागदेवीको मन्दिर निर्माण गरिएको मल्लले बताउनुभयो ।

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले हिलेधाप सिमसार क्षेत्रमा मनसा नागदेवीको मन्दिरसहित ४९ धारा निर्माण गरिएको पूर्ववडासदस्य डिकेन्द्र थापाले बताउनुभयो । मन्दिर र धारा निर्माणका लागि थापाको परिवारले समेत जग्गा दान दिएको छ । हाल मन्दिर र धारा निर्माण भएको क्षेत्रमा स्थानीयले तीन कट्ठा जग्गा दान गरिसकेका छन् ।

सो स्थानमा विभिन्न दाताले पितृमोक्षको कामना गरेर ४९ धारा निर्माणमा दाताहरुले एक धारा बराबर रु दश हजार सहयोग गरेका छन् । धारा निर्माणकर्ता झापा, धनकुटा र सुनसरीका धेरै छन् । दाताको पितृको नाम धारामा अङ्कित गरिएको छ । हिन्दू र बौद्ध धर्मालवम्बीलाई लक्षित गरेर ४९ धारा बनाइएको अध्यक्ष मल्लले बताउनुभयो । उहाँका अनुसार हिन्दू धर्मका अनुयायीले पितृको कार्य (मासे) ४५ दिनमा गर्ने र बौद्ध धर्मका अनुयायीले ४९ दिनमा गर्ने हुँदा यसैलाई आधार मानेर ४९ धारा निर्माण गरिएको हो । हिन्दू र बौद्धमार्गी सो क्षेत्रमा पितृमोक्षका लागि आउने गरेका छन् ।

समितिले धार्मिक क्षेत्रको प्रचारप्रसारका लागि नाग पञ्चमीको अवसर पारेर यही भदौ २ गतेदेखि त्रिदिवसीय धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने जनाएको छ । भदौ ४ गते नाग पञ्चमीमा नागको पूजा आराधना र युवा पण्डित प्रशान्त न्यौपानेको व्यासकत्वमा आध्यात्मिक कथा प्रवचन हुने भएको छ ।

धार्मिक पर्यटनका हिसाबले मेचीनगर–१ को यो स्थान महत्वपूर्ण रहेको वडाध्यक्ष रामकुमार राईले बताउनुभयो । उहाँले कृष्णथुम्की, १०८ शिवलिङ, मिनी माउण्टेन, समावेशी गुरुकुलजस्ता धार्मिक पर्यटकीय क्षेत्रसँगै यो स्थानसम्मको एकैपटक अवलोकन भ्रमण गर्न सकिने बताउनुभयो । उहाँले मनसा नागदेवीको मन्दिर र ४९ धाराको निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको ठूलो सङ्ख्या आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया