युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

  साउन २७, २०८०

काठमाडौँ, २७ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भिडियोमार्फत सम्बोधन गर्दै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताउनुभयो ।

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने बताउनुभयो । उहाँले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको बताउनुभयो ।

पछिल्लो पटक युवामा राजनीतिप्रति चासो बढ्दै गएको उहाँको भनाइ थियो । “राजनीति देश र जनताको हितमा केन्द्रित गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय युवा परिषद्ले राजनीतिमा युवा आकर्षणका साथै उत्पादन, रोजगारी र श्रमशीलता तथा आत्मनिर्भरका क्षेत्रमा समेत महत्वपूर्ण पहल लिइ बढ्दो पलायन रोक्न ठोस पहल गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उहाँले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले यस वर्षको युवा दिवसले दिगो विकासप्रति सचेत रहन युवालाई थप जिम्मेवारी सुम्पेको बताउनुभयो । दिवसले युवामा रहेको क्षमता उजागरण गर्ने मौका प्रदान गर्दै दिगो विकासको लक्ष्य सार्थक बनाउन तथा अगाडि बढ्न उत्पे्ररित गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्नुभयो ।

युवामा रहेको ज्ञान, सीप दक्षता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालन गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने उहाँले धारणा राख्नुभयो । विश्वव्यापीरुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र कार्बनडाइक्साइडको उत्र्सजनलाई कम गर्न हरेक क्षेत्रबाट प्रयत्न हुन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अतिगर्मी, सुख्खाको परिमाण विश्वभरि नै देखिन थालेको परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याई कार्बनडाइक्साइड, मिथेन र अन्य हरित ग्यासको उत्र्सनमा कमी ल्याउन जरुरी रहेको बताउनुभयो ।

“हाम्रो हिमशृङ्खलामा हिउ पग्लिएर कालापत्थर मात्र देखिन थालेको परिस्थितिमा हाम्रो विकास निर्माणसम्बन्धी दृष्टिकोणलाई प्रकृतिमैत्री र दीर्घजीवी बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले यसै आर्थिक वर्षलाई सरकारले युवा उद्यमशीलता वर्षका रुपमा मनाउन घोषणा गरेको उल्लेख गर्दै नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निम्ति सहुलितयपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवद्र्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

राष्ट्रिय युवा नीति युवा केन्द्रित कानुन र नेपाल सरकारले दिएको जिम्मेवारी तथा निर्देशनलाई परिपालन गर्दै सीमित स्रोत साधनका बाबजुद पनि युवा नेतृत्व विकास र युवा नवप्रवद्र्धनलगायत गतिविधिमा परिषद्ले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

तपाईको प्रतिक्रिया