पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग

  साउन २६, २०८०

नारायणगढ, २६ साउन : पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन् । नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्काे सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन् ।

पूर्वी चितवनको लोथरदेखि नारायणगढसम्मको यात्रा गर्ने यात्रीहरूलाई भरतपुरमा ओर्लेर अर्काे सवारीसाधन लिनुपर्ने बाध्यता भएको छ । पटकपटक सवारीसाधन परिवर्तन गर्नुपर्दा बढी भाडा तिर्नुपरेको, समय बढी लाग्ने गरेको लगायतका समस्या पूर्वी चितवनवासीले भोग्नुुपरेपछि यसको विरोध भएको हो ।

विरोधस्वरूप पूर्वी चितवनबाट चल्ने सावारीसाधनमा स्थानीयवासीसहित प्रतिनिधिसभा सदस्यले पनि विरोध जनाउनुभएको छ । चितवन–१ का प्रतिनिधिसभा सदस्य हरि ढकालसहितको टोलीले शुक्रबार २०–३० वटा सार्वजनिक सवारीसाधन लिएर पूर्वी चितवनबाट भरतपुर आई विरोध प्रदर्शन गर्नुभएको हो ।

शुक्रबार दिउँसो प्रतिनिधिसभा सदस्य ढकालसहितको टोलीले सार्वजनिक सवारीलाई नारायणगढको पुल्चोकसम्म लैजान खोजेपछि भरतपुरको चौबिस कोठीमा ट्राफिक प्रहरीले रोकेको थियो । ट्राफिक प्रहरीले उक्त सवारीसाधनलाई रोकेर पुनःकेन्द्रीय बस ट्रमिनल भरतपुरमै फर्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले बताउनुभयो ।

ट्राफिकले रोक लगाएसँगै सवारीसाधनमा आएका स्थानीय यात्रुहरूले केन्द्रीय बस टर्मिनलमा कोणसभा आयोजना गरी विरोध जनाएका थिए । विरोध कार्यक्रममा सहभागी हुनुभएका प्रतिनिधिसभा सदस्य ढकालले पूर्वी चितवनवासीलाई न्याय दिनका लागि आफू तयार रहेको बताउनुभयो । अस्पताल जान, अध्ययनका लागि क्याम्पस जानलगायत काममा परेको पीडालाई प्रशासनले तत्काल अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “एउटै जिल्लाका बासिन्दालाई सदरमुकाम आउन र जान कठिन हुनुहुँदैन । यसमा स्थानीय तह र स्थानीय प्रशासनबीच समन्वय हुनु जरुरी छ ।” जिल्लाभित्रै एउटा पालिकाबाट अर्को पालिकामा जान यस्ता समस्या आउन नहुने भन्दै उहाँले तत्काल यो कार्य रोकिनुपर्ने बताउनुभयो ।

जिल्लाका स्थानीय प्रशासन, भरतपुर महानगरपालिका, यातायात व्यवसायी, जिल्ला प्रहरी कार्यालयबीच गत मङ्सिरमा भएको सहमति कार्यान्वयनमा आएसँगै पूर्वी चितवनवासीले सदरमुकाम आउँदा केन्द्रीय बस टर्मिनलबाट अर्को बस फेर्नुपर्ने बाध्यता रहेको छ । यो बाध्यता हटाउनका लागि पूर्वी चितवनवासीले प्रशासनलाई ज्ञापनपत्र बुझाउनेलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।

यसअघि नेकपा (एमाले) चितवनको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई भेट गरी ज्ञापनपत्र बुझाउँदै पूर्वी चितवनबाट आउने सवारीसाधनलाई नारायणगढ जान दिनु पर्ने बताएको थियो ।

तपाईको प्रतिक्रिया