फिफा महिला विश्वकप फुटबल : अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा

  साउन २१, २०८०

काठमाडौं, २१ साउन : स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमा पुगेर खेल सकिएको थियो । टाइब्रेकरमा स्विडेनकी फ्रिडोलिना रोल्फो, एलिन रुवेन्सन र हाना बेनिन्सले गोल गर्नुभयो । 

नाथलि विजोर्नको प्रहार आकासिएको थियो । रेविका ब्लोमभिस्टका प्रहारमा अमेरिकी गोलरक्षक एलिसा नाहिर बाधक बन्नुभयो । सडनडेथमा स्विडेनकी मागडालेना एरिक्सन र लिन हुर्टिगले गोल गर्नुभयो ।

यस्तै टाइब्रेकरमा अमेरिकाकी एन्डी सुलीभान, लिन्डसे होरान र क्रिष्टि मेविसले गोल गर्नुभयो । मेगान रापिनोई र सोफिया स्मिथको प्रहार बाहिरियो भने केली ओहोराको प्रहार पोस्ट्मा ठोकिएको थियो ।

सडन डेथमा एलिसा नाहिरले गोल गर्नुभयो । क्वार्टरफाइनलमा स्विडेनले जापानसँग प्रतिस्पर्धा गर्नेछ । जापानले नर्वेलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । 

यस्तै सिड्नी फुटबल स्टेडियममा आइतबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले साउथ अफ्रिकालाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्सको जितमा जिल रुडले नवौँ र लिन्थ बियन्सटेनले ६८औँ मिनेटमा गोल गर्नुभयो । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

तपाईको प्रतिक्रिया