फिफा महिला विश्वकप फुटबल : स्पेन र जापान क्वार्टरफाइनलमा

  साउन २०, २०८०

काठमाडौं, २० साउन : स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

एकपक्षीय खेलमा स्पेनको जितमा एइटाना बोनमटी कोन्काले पाँचौँ र ३६औँ मिनेटमा गोल गर्नुभयो । अल्बा रेडोन्डो फेरेरले १७औँ, लाइया कोडिना पानेडासले ४५औँ र जेनिफर हेर्मोसो फुइनटेसले ७०औँ मिनेटमा गोल गर्नुभयो ।

स्वीट्जरल्यान्डले स्पेनकी लाइया कोडिना पानेडासबाट आत्मघाती गोल उपहार पाएको थियो । क्वार्टरफाइनलमा  स्पेनले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

यस्तै जापानको जितमा रिसा सिमिजुले ५०औँ र हिनाता मियाजावाले ८१औँ मिनेटमा गोल गर्नुभयो । जापानले सुरुवाती गोल १५औँ मिनेटमा नर्वेकी इनग्रिड सेयसटाड इंगेनबाट आत्मघाती उपहार पाएको थियो ।

नर्वेकी गुरो रेइटेनले २०औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बन्यो । जापानले क्वार्टरफाइनलमा स्विडेन र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया