पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

  साउन १९, २०८०

काठमाडौं, १९ साउन : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुभएको छ । सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गर्नुभएका उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आपूmले सन्न्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताउनुभएको छ ।

पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीमा आपूmले शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय गरेको बताउनुभयो । उहाँले क्रिकेट नखेले पनि आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको उल्लेख गर्नुभयो । करिब १८ वर्षसम्म चन्द्रसूर्य अङ्कित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा मल्लले खुसी व्यक्त गर्दै आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिनुभयो ।

मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “प्रकृतिको नियमअनुसार जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई ‘रिप्लेस’ गरेको थिएँ होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा बिराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुआत गर्ने निर्णय गरेको छु । इमान्दारीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँ सबैमाझ चिनाउन सफल भयो, मान प्रतिष्ठा दियो, सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन ।”

मल्लले विसं २०७६ कात्तिकदेखि कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ मङ्सिर २९ मा कप्तानी पदबाट हटाएको थियो । कप्तानबाट हटेको करिब दुई वर्षसम्म उहाँले राष्ट्रिय टिमबाट खेल्नुभयो । पछिल्लोपटक सन् २०२३ को जुलाईमा जिम्बावेमा भएको आइसिसी एकिदवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल उहाँको खेल जीवनको अन्तिम खेल बन्यो ।

यसैगरी उहाँ सन् २००५ मा नेपालको यू–१५ टोलीमा छनोट हुनुभएको थियो । सोही वर्ष उहाँ नेपालको यू–१७ र यू–१९ टोलीमा समावेश हुनुभएको थियो । मल्लले एकै वर्ष नेपालको तीनवटा उमेर समूह (यू–१५, यू–१७ र यू–१९)सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाउनुभएको थियो । सिनियर राष्ट्रिय टिममा भने उहाँले सन् २००६ बाट डेब्यू गर्नुभएको हो । उहाँले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया