राराको सुन्दरता र कर्णालीको व्यथा

  साउन ११, २०८०

“कति सुन्दर र विशाल छ रारा
लोभ्याउँछ यसले संसार सारा
मर्दछन् थकाई अनि बेचैनी
हराउँछन् दुःख चिन्ता सारा
नेपालकै आकृतिमा फैलिएको छ हेर
प्रकृतिको अनुपम उपहार रारा”

राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ । यस स्तम्भकारको मनमा पनि माथिका पङ्क्ति छचल्किन पुगे । धेरै पहिलेदेखिको चाहना हुँदाहुँदै पनि गत असारको पहिलो साता मात्रै पहिलोपटक देशको सबैभन्दा ठूलो ताल भनेर चिनिने मुगु जिल्लामा पर्ने रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर मिल्यो । जीवनमा एकपटक रारामा पुग्ने धेरैको धोको हुन्छ तर कमैलाई यो अवसर जुट्छ ।

सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लाको खलङ्गासम्म पुग्ने कर्णाली राजमार्गको नाग्म भन्ने स्थानबाट राजमार्गबाट अलग्गिएर जुम्लाको सिञ्जा उपत्यका भएर मुगु जाने बाटो अघि बढ्छ । सुन्दर पनि उत्पादनशील पनि यो उपत्यका नेपालभित्र मानव सभ्यतालाई हुर्काउने मूल ठाउँ पनि भन्ने गरिन्छ । मानवशास्त्री डोरबहादुर विष्टले लामो समय बिताएको र कर्णाली इन्स्टिच्युट स्थापना गरेको स्थान पनि यही सिञ्जा उपत्यका नै हो । अहिले यो उपत्यकाको अधिकांश भाग हिमा गाउँपालिकामा पर्दछ ।

दुईतिर हराभरा फाँट अनि अलि माथि केही लेकाली वनस्पतियुक्त जङ्गल अनि बस्ती भएको यो ठाउँमा मोटरबाटो बनेपछि भने बाटोको दायाँबायाँ आवास बनाउने क्रम बढेको छ । फाँटलाई सिञ्चित गर्दै बीचबाट बगेको हिमा नदी जुम्ला र कालीकोटको सीमास्थल नाग्ममा पुगेर तीला नदीसँग मिसिन्छ । यो सिञ्जा उपत्यकाको मनोरम दृश्यले सबैका मन रोमाञ्चित बनाउँछ । बोटविरुवा, हरियाली, हिमा नदी बनेर अविरल बगिरहेको कञ्चन हिमाली पानी यी सबै दृश्यलाई नजिक बसेर नियालिरहुँ जस्तो लाग्ने सुन्दरता ।

साँच्चीकै रारा ताल अनुपम सुन्दरताको खानी रहेछ । पढ्नु, सुन्नु र प्रत्यक्ष पुग्नुमा कति फरक छ भन्ने विषय रारा पुगेर मात्र अनुभूत हुन्छ । सदरमुकाम गमगढी नपुग्दै ताल्चा विमानस्थलको छेउबाटै रारा जाने बाटो देब्रेतिर मोडिन्छ । नाग्मबाट सिँजातिर लागेदेखि नै मोटरबाटो भने ग्राभेलयुक्त कच्ची बाटो हो तर मुगुका ठाडा भीर रहेको खण्ड नपुगुन्जेलसम्म दुर्गम जिल्लाको कच्ची बाटो यात्रा गरिरहेका छौँ भन्ने अनुभूत भएन । कालिकोट जिल्लाका भिराला अग्ला र डरलाग्दा पहाड छिचोलिसकेकाले होला जुम्लाको समथर भूभाग हुँदै मुगुसम्म पुग्दा देखापरेका मध्यमखालका हिमाली पहाडले खासै अघिल्लो दिनको अप्ठेरो बाटोको सम्झना गराउन सकेनन् । यात्रा पनि जीवनकै प्रतिविम्वजस्तो लाग्छ दुःख, सुख अनि फेरि दुःखको चक्र अर्थात अप्ठेरा र सप्ठराहरु झेल्दै र पार गर्दै अघि बढ्नुपर्ने । पहिलोपटक पुगेको यो जिल्लाको सदरमुकाम गमगढीको अवस्थिति, कार्यालयहरु, बजार, शैक्षिक संस्थाको अवस्थिति मोटामोटी जानकारी लिएपछि रारा पुग्ने सुरमा गमगढीलाई बिदाई अभिवादन गरेर अघि बढियो ।

रारा पुग्नै लाग्दा सल्लाका रुख भएको बाक्लो बन पार गरेर खुल्ला चौरमा पुगेपछि देखिन्छ छौँ विशाल जल सतह । चौरमा नपुगुन्जेलसम्म रुखहरुका बीचबाट देखिएको ताल खण्डखण्ड परेको अपुरो देखिन्छ । जब पूरा ताल देखिन्छ, अनि त बाटाका अनेक दुःख कष्ट च्याट्टै बिसर्न मात्र होइन, शरिर नै हलुका भएर उड्न खोज्छ । मानौँ कि कुनै समुद्रको किनारमा पुगिएको छ । चारैतिर नियालिसक्दा मात्र थाहा हुन्छ कि यो ताल नै हो । खुलेको आकाशजस्तै कञ्चन तालमा स्वच्छन्दरुपमा उडिरहेका बादलका विभिन्न आकृतिसहितका टुक्राहरु छर्लङ्ग देखिन्छन् । अनि देखिन्छ मुर्माकोटतर्फको भूभाग, बस्ती र फाट्टफुट्ट रहेका रुख बिरुवा एवं केही न केही खेती हुर्किइरहेका बारीहरु । हिँउद्मा हिउँले भरिएका डाँडाहरु देखिंदा हुन् तर अहिले हिउँको च्यादर उतारेर उदाङ्ग छन् । लामो यात्रा गरेर आएका पर्यटक, आगन्तुक वा यात्रुहरु पनि तालको समिपमा पुगेपछि थकाई हराएजस्तो, उमङ्ग पलाएजस्तो अनुभूत गर्दछन् ।

घोडा, डुङ्गा, भेडा र मान्छे
ताल वरिपरिको परिवेश वर्णन गर्नुपर्दा नवआगन्तुक आइपुग्नासाथ घोडा चढ्ने हो ? भन्दै केही मुगाली घोडा मालिकहरु देखा पर्दछन् । धेरै अपेक्षा नभएका र खुशी अनुहारसहितका मुगाली केटाहरु । घोडा कतिबेर चढ्ने हो कहाँसम्म जानुपर्ने हो वा चौरमा केहीबेर चढेर फोटो मात्र पो खिच्ने हो कि हेरिकन तिर्नुपर्ने दररेट रहेछ । यहाँ पुग्ने प्रायः सबैले घोडा चढेर फोटो खिच्ने अवसर गुमाउन चाँहैनन् । घोडचढी बाहेक तालसँगै रमाउने अर्को माध्यम भनेको १२ बजे अगाडि नै डुङ्गाबाट ताल वारपार गर्ने वा तालको किनारैकिनार परिक्रमा गर्नु रहेछ । मध्यान्ह १२ बजेपछि भने हावाका कारण डुङ्गा चढ्ने काम असुरक्षित मानिदोरहेछ ।

तालसँगैको चौरको अर्को भागतिर भने केही बथान भेँडाहरु मज्जाले चरिरहेका देखिन्थे । प्रयोगमा नआएका घोडाहरु पनि विभिन्न दिशामा फर्केर चरिरहेको हुन्छन् । यसरी घोडा, डुङ्गा, भेँडा यी तीनवटै चिजलाई निर्देशित गर्ने अरु कोही नभएर उही मान्छे थियो । यहाँका स्थानीयहरुले ताललाई पेशासँग आवद्ध गरेका छन् भने घुम्न आउने आगन्तुकले भने नयाँ ठाउँमा आफ्नो मनलाई निर्देशित गरिरहेको, साथमा आउने साथीलाई सघाइरहेको र रमाइरहेको हुन्छ । तालको संरक्षणका लागि नेपाल सरकारका निकायहरुका साथमा स्थानीयहरुको पनि ठूलो योगदान रहेको छ ।

मुर्माटपको यात्रा र बसाई : रोमाञ्चक अनि स्मरणीय
तालबाट उत्तरतर्फ मुर्माकोट नामक बस्ती तथा डाँडाको सर्वाधिक उच्च भागलाई मुर्माटप नाम दिइएको रहेछ । ताललाई दक्षिण पारी उक्त वस्ती र नजिकैको रिसोर्ट पुग्न कि त घोडा चढेर जानुप-यो कि पैदल यात्रा । तालतर्फ नै फर्केको मुर्माकोटको पाखामा केही रिसोर्टहरु सञ्चालनमा रहेछन् भने मुर्माकोट बस्तीमै केही होमस्टे समेत सञ्चालनमा ल्याइएको रहेछ । तालदेखि हिँडेको करिब दुई घण्टामा मात्र रिसोर्ट भएको ठाउँ पुग्न सकिन्छ । रिसोर्ट पुग्दा असिनपसिन बनाउँछ । कहिलेकाहीँ सिमसिम पानी पर्दा जाडोले जिउ थरथर कमाउँछ । यस्तो बेला शरिरलाई तातो राख्न भित्र न्यानो ठाउँमा गएर रुमहिटर बाल्ने, तातोतातो खाना खानुपर्छ ।

भोलिपल्ट बिहान रिसोर्टबाट उकालो लाग्ने गरिन्छ मुर्माटप पुग्नका लागि । मुर्माटपमा पुगेर सूर्योदयसँगै तालको अवलोकन गर्ने धेरैको धोको हुन्छ । वर्षायाममा सूर्योदयको लालित्यमय दृश्य भेटाउन भने मुस्किलपर्दछ । डेढ दुई घण्टाको हिँडाइपश्चात् मुर्माटपमा पुग्न सकिन्छ । चारैतिरको प्रकृतिको सिर्जना नियाल्दै खासगरी आकासमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोकप्यास केही अनुभव हुँदैन । प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिन्छ । केही समय मुर्माटपमा बिताएर रिसोर्टमा फर्किदा तातो फापरको रोटीको स्वाद जिब्रोमै झुण्डिएको हुन्छ । यसरी राराको यात्रामा जाने जो कोहीले जीवनमा महत्वपूर्ण प्राप्ति भएको अनुभव गरेकै हुन्छन् र यो सम्झनालाई जीवनभर संगालेकै हुन्छन् ।

फेरिँदै कर्णाली देखिँदै सम्भावना
कर्णाली अहिले पनि टाढा छ भन्ने कुरा त रारा पुगेर काठमाडौ फर्कन सडक मार्गबाट सरासर यात्रा गर्दा पनि पूरा छ दिन लाग्दछ । राष्ट्रिय राजमार्गमा जोडिन बाँकी हुम्ला, जाजरकोट हुँदै डोल्पाको दुनैसम्म कच्ची बाटोले जोडे पनि पुलहरु बन्न बाँकी छ । सबै पालिकाहरुमा सधैँ प्रयोगमा आउने सुरक्षित सडकको उपलब्धता सम्भव हुन त केही वर्ष नै कुर्नुपर्ने देखिन्छ । यद्यपि, २०६० सालयता कर्णालीलाई उज्यालो बनाउन, कर्णालीलाई देशका बाँकी भागसँग जोड्न, शिक्षा स्वास्थ्य र उत्पादनका लागि भएको समग्र लगानी र प्रयत्न भने कम छैन ।

प्रदेशमा पहिलेको कर्णाली अर्थात कर्णाली अञ्चलबाट मुख्यमन्त्री पनि भइसके । कर्णालीका उत्पादनहरु उवा, फापर चिनो जुनेलो मार्सी चामल जडिवुटीलगायतलाई प्रवद्र्धन गर्न काठमाडौँलगायतका सहरमा पसलहरु राख्ने, यहाँका युवालाई राष्ट्रिय श्रम बजारमा बढी माग भएका सीप विकासका लागि उचित प्रवन्ध गर्ने जस्ता कामहरु गरिनुपर्दछ । रारा ताल, सिँजा, मुकुट हिमाल, मुर्माटप, चन्दननाथ रहेको जुम्ला सदरमुकामलगायत पर्यटकीय स्थानहरुलाई ‘प्याकेजिङ्ग’ गर्दै कर्णालीका खोँचहरुमा साहसिक पर्यटन सञ्चालन गर्ने ध्येयका साथ पुलहरु निर्माण गर्न सके स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने देखिन्छ ।

कर्णालीबाट बग्दै आएका नदीहरु जलविद्युत्, सिँचाइ, जलपर्यटनका लागि दिगो स्रोत पनि हुन् । हवाई यातायातका पूर्वाधारलाई थप सुदृढ बनाएर पनि थप पर्यटक भित्र्याउन सकिन्छ । यार्चागुम्बा जस्ता बहुमूल्य जडिवुटी प्रशोधन र प्याकेजिङ्ग गरेर विश्व बजारमा पठाउने सम्भावना त छँदैछ । यी सम्भावनाको अधिकतम् प्रयोग गर्न तीनै तहका सरकारहरु चुक्नु हुँदैन । फेरि पनि रारा तालको आफ्नो मौलिकता कायम राख्दै विश्व पर्यटन बजारमा पर्याप्त प्रचारप्रसार गरी नेपालकै नाम “द कन्ट्री अफ रारा लेक” भनेर समेत राख्न सकिने सम्भावना उत्तिकै छ । विदेशमा रहँदै आउनुभएका नेपालीले पनि राराको प्रचार गर्नमा पछि पर्नु हुँदैन । यसमा सञ्चार माध्यमहरुले पनि प्रचारात्मक भूमिका खेल्न सक्नुपर्छ ।

पुरानो सभ्यताको प्रमाणका साथै ‘भर्जिन’ रुपमै उपलब्ध प्राकृतिक सम्पदा र क्रमिक विकासको ज्वलन्त प्रमाण हो कर्णाली । कर्णालीको सुन्दरता सबै नेपालीले देख्न पाउनुपर्दछ र सँगसँगै कर्णालीको व्यथा पनि काठमाडौँमा बसोवास गर्नेले बुझ्ने र सम्बोधन गर्ने प्रयत्न गर्नुपर्दछ । रारा ताल कर्णालीका थुप्रै आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक अनुपम प्राकृतिक सौन्दर्यतासहित आगन्तुकलाई स्वागत गरिरहेको छ । समय र अनुकूल मौसम मिलाएर सबैले जीवनमा कम्तिमा एकपटक जीउँदै स्वर्ग देख्न सकिने यस ठाउँमा पुग्न भुल्न हुँदैन । (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ)

तपाईको प्रतिक्रिया