राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट

  साउन ०५, २०८०

काठमाडौँ, ५ साउन : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आउनुभएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ ।

चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आउनुभएको हो । उक्त भेटका अवसरमा सदस्य सचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इरानका पूर्वमुख्य प्रशिक्षक सातौँ डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आइजेएफ)ले पठाएको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो । “तत्कालका लागि उहाँ (मन्सुरी)लाई १९औँ एशियाली खेलकुदको तयारीमा केन्द्रित गराउने छौँ । थप कुरा एशियाली खेलकुदपछि हुनेछ”, अध्यक्ष वज्राचार्यले भन्नुभयो ।

हाङझाव एसियाडका लागि जुडोबाट चार पुरुष र चार महिला गरी आठ खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुसीबुस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको दुई चरणमा प्रशिक्षण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया