सार्वजनिक यातायातको भाडादर घट्यो

  साउन ०१, २०८०

काठमाडौँ, १ साउन : पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भाडा समायोजनसम्बन्धी कार्यविधिमा भएको व्यवस्थाका आधारमा समायोजन गरिएको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादरसम्बन्धी कार्यविधिमा व्यवस्था छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालबाहक सवारी साधनको भाडादर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार विभागलाई निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया