पाटन, ३० असार : परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताउनुभएको छ ।
नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्बलाई प्रतिनिधि गर्ने भएकाले हरेकलाई आत्मसम्मान र गौरव महसुस गर्ने बताउनुभएको हो ।
“हरेक देशको राष्ट्रिय गानले राष्ट्र कुन स्थितिमा निर्माण भएको छ भन्ने विम्ब झल्काउँछ । राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्”, उहाँले भन्नुभयो, “राष्ट्रको भावी पदयात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ ।”उहाँले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताउनुभयो ।
मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न संयुक्त राष्ट्रसङ्घले काम गर्नुपर्छ भन्ने अवस्था सृजना गर्न खोजेको वताउनु भयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउनु हुँदै विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पु¥याएको धारणा राख्नुभयो । उहाँले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गर्नुभयो ।
पुस्तकमाथि टिप्पणी गर्नुहुँदै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई बैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताउनुभयो । उहाँले विश्वका राष्ट्रिय गान पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनःप्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह गर्नु भयो । उहाँले क्रिश्चियन समुदायबाट राष्ट्रिय गानको प्रारम्भ भएको बताउनुहुँदै नेदरल्यान्डको राष्ट्रिय गान पहिलो राष्ट्रिय गान भएको बताउनुभयो । उहाँले राष्ट्रिय गान स्वतन्त्र राष्ट्रका लागि एउटा अनिवार्य तत्व भएको बताउँदै यसले एकताको लागि प्रेरित गर्ने भनाइ राख्नुभयो ।
गीतकार तथा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विश्वका राष्ट्रिय गान पुस्तक सुन्दर संग्रहणीय र अद्वितीय उपहारका साथै सिङ्गै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताउनुभयो ।
पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले अप्ठेरो काम गर्न सफल भएकामा प्रशंसा गर्दै पैसाभन्दा सबैको अपनत्व हुने गरी लैजान आग्रह गर्नुभयो ।
नेपाल वाङ्मय फाउन्डेसनका अध्यक्ष विप्लभ ढकालले प्राज्ञिक क्षेत्रमा रचनात्मक काम गर्ने उद्देश्यले स्थापित संस्थाले पुस्तक प्रकाशन गरेर मौलिक अस्तित्वको आधार निर्माण गर्न खोजेको बताउनुभयो । उहाँले सबैसँग सद्भाव र समन्वय कायम गर्दै संस्थालाई अगाडि बढाइने धारणा राख्नुभयो । काव्यिक र साहित्यिक शब्दहरूको संयोजन गर्दै नेपाली वर्णानुक्रमअनुसार पुस्तक तयार पारिएको उहाँको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९५ देशका राष्ट्रिय गानको नेपाली अनुवादमा आधारित विश्वका राष्ट्रिय गान पुस्तकको अनुवाद प्रदीप निरौलाले तयार गर्नुभएको हो ।