दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडमा सिनियरतर्फ सुदीप र जुनियरतर्फ शिवाकोटी प्रथम

  असार २६, २०८०

काठमाडौँ, २६ असार : ‘दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२३’मा सिनियरतर्फ गण्डकी बोर्डिङ स्कुल पोखरा कास्कीका सुदीप रोकाया प्रथम भएका छन् ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार जुनियर विधातर्फ क्रिएटिभ एकेडेमी कीर्तिपुर काठमाडौँका स्लेशा शिवाकोटी प्रथम भएका छन् ।

तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा प्रकाशन गरिएसँगै ‘दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२३’ समापन भएको छ । सातवटै प्रदेशमा सञ्चालन भएको प्रथम तथा दोस्रो चरणबाट छनोट भएका जुनियर र सिनियर विधातर्फ ४२ विद्यार्थीले सहभागिता जनाएका थिए ।

यसवर्ष बन्द शिविर भर्चुअलरुपमा असार ८ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको थियो । अन्तिम परीक्षा असार २० गते काठमाडौँको बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा सञ्चालन गरिएको थियो । बन्द शिविरमा विद्यार्थीलाई स्वदेश तथा विदेशमा रहनुहुने नेपाली तथा विदेशी विषय विज्ञमार्फत् खगोल तथा अन्तरिक्षा विज्ञानसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो ।

शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई यसवर्ष सञ्चालन हुने विभिन्न अन्तर्राष्ट्रिय एष्ट्रनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिने जनाइएको छ । कार्यक्रममा कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीले जुनियर तथा कक्षा ११-१२ का विद्यार्थीले सिनियर विधामा भाग लिन पाउँछन् ।

तपाईको प्रतिक्रिया