मोरङमा नागरिकता लिनेको भीड (फोटो फिचर)

  असार १३, २०८०

विराटनगर, १३ असार : जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कानुन बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ । गएको सोमबारदेखि कार्यालयमा नागरिकता लिनका लागि सयौँ मानिसहरू लाइनमा बस्दै आएका छन् ।

नागरिकता लिन दैनिक एक हजारको सङ्ख्यामा लाइनमा बस्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली अवलम्बन गरेर नागरिकता वितरणलाई व्यवस्थित बनाउने प्रयास गरेको छ ।

नागरिकता सम्बन्धी नयाँ कानुनी व्यवस्था भएपछि पहिलो पटक सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मातहतका दुई इलाका प्रशासन कार्यालयहरूबाट नागरिकता वितरण कार्य सुरु भएका हुन् । सोमबार र मङ्गलबार दिनमा ४० जनालाई नागरिकता वितरण गर्ने गरी कार्यालयले टोकन वितरण गरेको थियो । आज (बुधबार) बाट भने एक दिनमा ९० जनालाई नागरिकता दिने गरी टोकन वितरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकृत प्रदीप साहले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार बिहानसम्म एक हजार जनाभन्दा बढी व्यक्तिलाई नागरिकता बनाउनका लागि मिति तोकेर टोकन वितरण गरिसकेको छ । सूचना अधिकृत साहले भन्नुभयो, ‘‘बुधबार बिहानसम्म साउन ११ गतेसम्मका लागि टोकन बाँडिसकेका छौँ, बाहिरको लाइन हेर्दा बेलुकीसम्म साउन मसान्तसम्मकै लागि टोकन दिनु पर्ने अवस्था देखिन्छ ।’’

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङबाट १०५ जना जन्मसिद्धका सन्तानहरूले वंशजको नागरिकता प्राप्त गरेका थिए । इलाका प्रशासन कार्यालयहरूसमेत गरी मङ्गलबार १९५ जनाले नागरिकता बनाएका थिए । सोमबार र मङ्गलबार मोरङमा १२८ जनालाई  नागरिकता वितरण गरिएको थियो । मङ्गलबार साँझसम्म मोरङमा ३२३ जनाले नागरिकता प्राप्त गरिसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरण क्षमता बढाउँदै सहज वातावरण तयार गरिरहेको जनाएको छ । त्यसका लागि बुधबार मात्र मोरङ कारागारमा कार्यरत अधिकृतलाई काजमा सरुवा गरी नागरिकता फाँटको जिम्मेवारी तोकेको छ । थप अधिकृतहरू झिकाएर दैनिक बढीभन्दा बढी नागरिकता वितरण गर्ने वातावरण बनाउने तर्फ कार्यालय प्रयासरत रहेको अधिकृत साहले जानकारी दिनुभयो ।

नागरिकता माग गर्नेहरूले वडाबाटै कागजपत्र रुजु गरेर सिफारिस लिएर आउने भएकाले नागरिकता वितरणमा कागजपत्र नपुग्ने खासै समस्या देखिएको छैन । जिल्ला प्रशासन कार्यालयले सबै वडाहरूलाई नागरिकता सिफारिस गर्दा आवश्यक पर्ने कागजातको विषयमा प्रष्ट निर्देशन दिएकाले कागजपत्र नपुग्नेहरूको सिफारिस नहुने भएकोले टोकनका लागि लाइनमा बसकेकाहरुले सहज रूपमा नागरिकताका लागि टोकन पाइरहेको सूचना अधिकृत साहले जानकारी दिनुभयो । कुनै कागजपत्र थप हेर्नु वा बुझ्नु परेमा भोलिपल्ट लाइनमा बस्न नपर्ने गरी गेटपासको व्यवस्था मिलाएकोले दोहोरो लाइन बस्न नपर्ने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले कागजपत्र रुजु गरेर टोकन वितरण गर्ने गरेको छ । यसो हुँदा पालोमा नागरिकता बनाउन आउँदा कागजपत्र नपुग्ने झण्झट नहुने कार्यालयको बुझाइ छ ।

नागरिकता बनाउनका लागि सेवाग्राहीहरू भने बिहान ३ बजेबाटै जिल्ला प्रशासन कार्यालय अगाडि लाइनमा बस्ने गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका ५ की  कलावती शर्मा बिहान ९ बजे नै नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पुग्नुभयो । ७ महिनाको कलिलो छोरो बोकेर लाइनमा पुग्दा उहाँ झण्डै चार सय जना पछाडि पर्नुभयो ।

विराटनगरका किसनकुमार यादवले खाना नखाई बिहानैबाट लाइनमा बसेको बताउनुभयो । केही दिनयता तुलनात्मक कम गर्मी भएकोले जिल्ला प्रशासन कार्यालयमा लाइन बस्नेहरूलाई राहत पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले झण्डै ८० हजार जन्मसिद्धका सन्तानहरूले नागरिकता माग गर्ने अनुमान गरेर सोही अनुसार तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले ८० हजार जना जतिले नागरिकता लिनसक्ने अनुमान गरेको बताउनुभयो । इलाका प्रशासन कार्यालय रङ्गेली र उर्लाबारी पनि यस प्रकृतिको नागरिकता वितरण कार्यलाई जारी राखेका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया