विद्युतको आन्तरिक खपत बढाउन सांसद विष्टको सुझाव

  असार ०४, २०८०

काठमाडौं, ४ असार : नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

“आज पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आयो” सांसद विष्टले जिज्ञासा गर्नुभयो, “जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्बाध ढङ्गले भारत किन्न तयार हुन्छ ?”

दश हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार आजैदेखि गम्भीर हुन आवश्यक रहेको उहाँले सुझाउनुभयो ।

“११३ वर्ष लामो विद्युत उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत प्राप्त गर्न सकेका छैनन् । अहिले पनि हजारौँ, लाखौँ घरहरू अँध्यारोमा बस्न बाध्य छन्” सांसद विष्टले भन्नुभयो, “विद्युतीय सवारी साधन, इन्डक्सन चुलोलाई अहिले पनि ठीक ढङ्गले प्रयोग गर्न सकिएको छैन ।” एमाले सचिव समेत रहनुभएका विष्टले आन्तरिक खपत बढाउनमा लाग्न सरकारसँग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया