राष्ट्रिय ललितकला प्रदर्शनीमा अवलोकनकर्ताको भीड

  जेठ २५, २०८०

काठमाडौँ, २५ जेठ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर सुरु गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढ्न थालेको छ ।

यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा शुभारम्भ गरी जेठ मसान्तसम्म चल्ने प्रदर्शनीमा देशभरबाट छनोट भएका छ सय ९५ वटा कलाकृति राखिएको छ । सुदूरपश्चिम प्रदेशबाट भने प्रदर्शनीमा चार जनामात्र कलाकारको कलाकृति प्राप्त भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले राससलाई जानकारी दिनुभयो । कर्णाली प्रदेशबाट ११ जना कलाकारको कलाकृति प्रदर्शनीमा राखिएको छ ।

यसैगरी बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् चार सय ३५, गण्डकी प्रदेशबाट ५८, कोशी प्रदेशबाट ५२, मधेश प्रदेशबाट ४९ र लुम्बिनी प्रदेशबाट ४९ जना कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको पनि उहाँले बताउनुभयो ।

प्रदर्शनीको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुभयो । प्रदर्शनीमा राखिएका सबै कलाकृतिको उहाँले अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

यसैगरी नेपालका लागि कतारका राजदूत जबिर अब्दुल्ला अलबीले पनि प्रदर्शनीको अवलोकन गर्नुभएको छ । प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीले पनि रुचिपूर्वक अवलोकन गरेका छन् । विजेश्वरी ज्ञान मन्दिर महाविद्यालय स्वयम्भूमा कक्षा ८ मा अध्ययनरत दीक्षा खड्का प्रदर्शनी हेरेर धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुहुन्छ ।

सोही विद्यालयको कक्षा ८ मै अध्ययनरत लिलीमा गुप्तालाई भने केही कलाकृति बुझ्न असहज भयो । तर पनि प्रदर्शनीबाट किताब पढेरभन्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।

ज्ञानोदय बालवाटिका विद्यालय खोकना, ललितपुरका विद्यार्थीले पनि आज प्रदर्शनीको अवलोकन गरेका छन् । विद्यालयले आर्ट क्लब नै गठन गरेर ललितकला विधालाई प्रोत्साहन गरेको शिक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

ज्ञानोदय बालवाटिका विद्यालयमा कक्षा ७ मा अध्ययनरत रिया तामाङ प्रदर्शनी विद्यार्थीका लागि ललितकलाको ज्ञान आर्जन गर्ने राम्रो पाठशालाका रूपमा स्थापित भएको बताउनुहुन्छ । दुवै विद्यालयमा चित्रकलामा प्रतिस्पर्धा पनि गराउने गरिएकाले पनि विद्यार्थीले रुचिपूर्वक सबै कलाकृतिको अवलोकन गरेका थिए ।

प्रतिष्ठानको कार्यालय नक्सालमा स्थान अभाव भएका कारण परम्परागत मूर्तिकलाका प्रदर्शनी भने बबरमहलस्थित नेपाल कलापरिषद्मा गरिएको छ । बबरमहलमा करिब दुई सय ५० कलाकृति प्रदर्शनीमा राखिएको कुलपति हार्तम्छालीले जानकारी दिनुभयो ।

विगत वर्षको प्रदर्शनीमा भन्दा यसपटक चित्र बढे पनि गुणस्तर बढ्न नसकेको उहाँले स्वीकार गर्नुभयो । राजधानी वरपरका कलासर्जककै रचना बढी प्रदर्शनीमा रहेको छ । व्यावहारिकरूपमा बाहिरका कलाकर्मीलाई प्रोत्साहन हुन सकेको छैन । हुम्ला, जुम्लाका कलाकर्मीका कलाकृति अझै प्रदर्शनीमा आउन सकेको छैन ।

दुर्गम जिल्लाका कलाकर्मीलाई पनि समेटेर अर्को वर्ष प्रतिष्ठानले प्रदेशस्तरमै प्रदर्शनी गर्ने योजना बनाएको छ । ललितकलाका बारेमा विधागत कार्यशाला र अन्तरक्रिया गर्न पनि बजेट र जनशक्तिको अभावमा नसकिएको प्रतिष्ठानले जनाएको छ । प्रदेश र स्थानीय तहमा ललितकला हेर्ने प्रतिष्ठान गठन गर्ने क्रम अघि बढेको छ । प्रदेश र स्थानीय सरकारले पनि ललितकलाका काम गर्न थालेपछि भने यसको संस्थागत विकासमा सहयोग पुग्ने विश्वास गरिएको कुलपति हार्तम्छाली बताउनुहुन्छ । (रासस)

तपाईको प्रतिक्रिया