नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ

  जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षपदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सङ्गठनको शनिबार राति काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा किरणकुमार रिजाल, प्रथम उपाध्यक्षमा हुकुमसिंह नेपाली, द्वितीय उपाध्यक्षमा ऐनकुमार शाही, तृतीय उपाध्यक्षमा कान्छाराम थिङ र महासचिवमा सरोज खनाल निर्वाचित हुनुभएको छ ।

यस्तै, उपमहासचिवमा टेकप्रसाद बस्याल, गान्धीराज गिरी र रामहरि श्रेष्ठ, सचिवमा रुपकलाल श्रेष्ठ, रामचन्द्र भुसाल र चिनिबहादुर बोहोरा, कोषाध्यक्षमा पुरुषोत्तम सिंखडा र सहकोषाध्यक्षमा गोपबहादुर ठकुरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत छविलाल न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनले सङ्गठनका पूर्वअध्यक्ष डोलनाथ खनाललाई प्रमुख सल्लाहकारको भूमिका प्रदान गरेको छ ।

अधिवेशनले कोशी प्रदेशको संयोजकमा रामकुमार हिङमाङ, बागमती प्रदेशको संयोजकमा गुणराज घिमिरे, गण्डकी प्रदेशको संयोजकमा प्रकाशमणि तिवारी र लुम्बिनी प्रदेशको संयोजकमा जितेन्द्र खत्रीलाई जिम्मेवारी दिएको छ । बाँकी तीन प्रदेशको जिम्मेवारीसमेत चाँडो दिइने बताइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य गङ्गा कार्कीले मुलुकलाई समाजवादी यात्रामा अगाडि बढाउनका लागि यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई अगाडि बढाउन सरकारको साथ र सहयोग रहन्छ”, उहाँले भन्नुभयो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राज्यले यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सुविधासम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभयो । उहाँले २० वर्षे सवारी साधन हटाउने निर्णय इन्जिन परीक्षणको नतिजाका आधारमा हुनुपर्ने उल्लेख गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया