तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका अधिकारीलाई

  जेठ २०, २०८०

मुगु, २० जेठ : पर्यटन प्रवर्द्धन र राराको प्रचारप्रसारका लागि तीन विगत वर्षदेखि आयोजना हुँदै आएको रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पार्नुभएको छ ।

रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाको हिमा गाउपालिका–६ पातरखोलाका अधिकारीले रारा ताल वरिपरि १६ किलोमिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी प्रथम उपाधि हासिल गर्नुभएको हो ।

उक्त प्रतियोगितामा दुई सय २२ जना खेलाडी सहभागी रहेको श्री बक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले एक घण्टा १२ सेकेन्डमा पार गरी द्रोस्रो र तेस्रो उपाधि जुम्लाकै पातारासी गाउँपालिका–५ का दीपेन्द्र बोहोराले हात पार्नुभएको छ । बोहोराले एक घण्टा एक मिनेट २१ सेकेन्डमा पार गरेको श्री दल गुल्मले जानकारी दिएको छ ।

त्यसैगरी महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधि हात पार्नुभयो । १६ किलोमिटर रावलले एक घण्टा १३ मिनेट ५२ सेकेन्डमा पार गर्नुभएको थियो । यस्तै दोस्रो स्थानमा जुम्लाकै तिला गाउँपालिक–९ की अनिता बुढा एक घण्टा १४ मिनेट २१ सेकेन्डमा र तेस्रो स्थानमा जुम्लाकै पातारासी गाउँपालिका– २ की समिता बुढाले एक घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गर्नुभएको थियो ।

विजेता पुरुष तथा महिला खेलाडीलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ४० हजार ३० हजार २० हजार रकम पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कर्णाली प्रदेशका अन्य खेलाडी गरी दुई सय २२ जना सहभागीमध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधि सबै जुम्ला जिल्लाका खेलाडीले हात पारेका छन् । (रासस)

तपाईको प्रतिक्रिया