मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

  जेठ २०, २०८०

चितवन, २० जेठ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताउनुभएको छ । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा गर्ने होईन ।” आफूले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कम गरिरहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारसँगै सेवामा समेत सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पताललाई १० प्रतिशत निःशुल्क श्यया उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ । यो कार्यान्वयनमा आउँछ ।” कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।

प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल श्ययाको १० प्रतिशत श्यया छुटाई निःशुल्क उपचार अनिवार्यरुपमा गराउन लागिपरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार जनताका पक्षमा छ भन्ने आभास हुने गरी काम गर्न लागिएको बताउँदै उहाँले सरकार हरेक नागरिकका पक्षमा रहने बताउनुभयो । ज्येष्ठ नागरिकप्रति सरकार सधैँ सकारात्मक भएको भन्दै उहाँले ज्येष्ठ नागरिकबाट अहिले पुस्तान्तरणका कार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तान्तरणले हाम्रो धर्म संस्कृति संरक्षण गर्ने भएकाले यसको पक्षमा सरकार हुनेछ ।”
रासस

तपाईको प्रतिक्रिया