गण्डकीका खेलाडीको लगत राखिने

  जेठ १९, २०८०

गण्डकी, १९ जेठ : प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ । परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो ।

परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई जिल्ला तहमा रहेका खेलाडीको व्यक्तिगत विवरणसहितको लगत पठाउन परिपत्र गरिसकेको बताउनुभयो ।

“प्रतियोगितामा पाएको पदकसहित खेलाडीको विवरण सङ्कलन गर्दैछौँ, आउँदो असारभित्र सबै राष्ट्रिय खेलाडीको तथ्याङ्क तयार हुन्छ”, उहाँले भन्नुभयो, “खेलाडी भनेको हाम्रो सम्पत्ति हो, सम्मानका लागि पनि खेलाडीको नाम र योगदानलाई लिपिबद्ध गर्नुपर्छ ।”

सदस्यसचिव शर्माले प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडी कति छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नरहेको उल्लेख गर्नुभयो । खेलाडीको लगत लिँदा प्रदेशमा कुन खेलको अवस्था र सम्भावना कस्तो छ भनेरसमेत थाहा पाउन सकिने परिषद्ले जनाएको छ । गण्डकी प्रदेशमा विश्व खेलकुदको महाकूम्भ ओलम्पिकसम्म भाग लिएका खेलाडी छन् । (रासस)

तपाईको प्रतिक्रिया