स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन

  जेठ १८, २०८०

सिन्धुपाल्चोक, १८ जेठ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्यचौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको दुई तले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिनुभयो । “भवन र उपकरणले मात्र स्वास्थ्य सेवा प्रवाह हुँदैन । त्यसमा आवश्यक पर्ने जनशक्तिको पनि व्यवस्था हुनुपर्छ”, उहाँले भन्नुभयो, “संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्यको हक नागरिकले सहजरूपमा पाउनुपछ । त्यसतर्फ हामीले काम अगाडि बढाइसकेका छौँ ।”

उहाँले जनताले अनुभूति गर्ने गरी सेवामा सुधार गर्दै लैजानेतर्फ आफू र मन्त्रालयको टिमले योजना बनाउँदै काम गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गर्नुभएको छ ।

दश वटा कोठा भएको दुई तले उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले छायाँश्वरी निर्माण सेवामार्फत रु एक करोड ७४ लाख ११ हजारमा निर्माण गरेको हो । भवन निर्माणका लागि आयोजनाले २०७८ वैशाख ३ गते सम्झौता गरेको र २०७९ पुस २७ गते निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर टङ्कप्रसाद गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले संविधानले दिएको अधिकारअनुसार नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमाका क्षेत्रमा पनि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया