कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक चाँडो बोलाउनुपर्छ : नेता आचार्य

  जेठ १६, २०८०

काठमाडौँ, १६ जेठ : नेपाली कांग्रेसका नेता मधु आचार्यले कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक चाँडो बोलाउनुपर्ने बताउनुभएको छ ।
कांग्रेसले आज यहाँ आयोजना गरेको पार्टी रूपान्तरण अभियानमा उहाँले विधानअनुसार दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भए पनि १० महिनासम्म बस्न नसेकेको भन्दै चाँडो बोलाउन माग गर्नुभएको हो । “पार्टीका उपसभापति र महामन्त्रीले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे पनि नेतृत्वले सुनेको छैन, केन्द्रीय कार्यसमितिको बैठक नबोलाए हामी विशेष महाधिवेशन बोलाउन बाध्य हुन्छौँ”, उहाँले भन्नुभयो ।
कांग्रेस नेता जगदीश्वर नरसिंह केसीले कांग्रेस बिग्रिन र सिद्धिन लागेकाले सो अवस्थाबाट जोगाउनका लागि रूपान्तरण अभियान चलाएको बताउनुभयो । आफूहरूले चलाएको अभियान कांग्रेसले चिन्ता गर्नेको अभियान भएको उहाँको भनाइ थियो ।
कांग्रेस नेता गुरुराज घिमिरे, रञ्जित कर्णलगायतले पार्टी रूपान्तरण अभियान कुनै गुटको अभियान नभई कांग्रेस बचाउनका लागि चलाइएको अभियान भएको बताउनुभयो । उक्त अभियान देशभर सञ्चालन गरिने उहाँहरूको भनाइ थियो । (रासस)

तपाईको प्रतिक्रिया