प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ

  जेठ १६, २०८०

चितवन, १६ जेठ : नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् बिक्रीको विषयमा छलफल भनिएको छ, भ्रमणका क्रममा राष्ट्र हितका विषयमा छलफल हुनुपर्छ ।”

उहाँले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन् । उनीहरुको जयजयकार हुन लागेको छ । यो देशका लागि खतरा हो ।”

सरकारले ल्याएको बजेटले आफ्नो विधि प्रक्रिया मात्रै पुर्याएको उहाँले बताउनुभयो । बजेट नारैनारामा सीमित भएको टिप्पणी गर्दै उहाँले भाषाले सबैतिर छोएको, मिलाएको तर स्रोतको कुनै सुनिश्चितता गर्न नसकेको बताउनुभयो । सङ्घीय शासन प्रणालीमा सङ्घीय सरकारको एकात्मक र केन्द्रीकृत ढङ्गको बजेट आएको उहाँले बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया