बजेटमा रुपन्देहीको कृषि उपज केन्द्र

  जेठ १५, २०८०

रुपन्देही, १५ जेठ : बुटवलमा निर्माणको तयारी गरिएको कृषि उपज केन्द्रलाई सरकारले बजेटमा समावेश गरेको छ । बुटवल उपमहानगरको सेमलारमा रु दुई अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार निर्माण हुन लागेको हो ।

स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल उपमहानगर–१५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो ।

रुपन्देहीको सैनामैना र बुटवलको बीचमा एकीकृत थोक कृषि बजार निर्माण हुने भएकोे छ । बुटवलमा रहेको कृषि थोक बजार केन्द्र साँँघुरो भएपछि बुटवल–१६ र सैनामैना–१ को बीच भागमा पर्ने डहरगाउँ कर्साघाटमा ग्रिनपार्क बनाइने भएको हो । सङ्घीय सरकारले दुई नगरसँगको सहकार्यमा अत्याधुनिक एकीकृत कृषि बजार निर्माण लागेको हो ।

नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, बिक्री वितरण र भण्डारणका लागि वातावरणीय जोखिम मूल्याङ्कन गर्ने काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

नेपाल सरकारले नेदरल्यान्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणका लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनका लागि अनुदान सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया