दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किनको समस्या

  जेठ १३, २०८०

चितवन, १३ जेठ : जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो ।
कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन् । राप्ती नगरपालिकामा एक हजार तीन सय ७५ र इच्छाकामना गाउँपालिकामा सात सय ८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उहाँले जानकारी दिनुभयो ।
यस्तै, माडी नगरपालिकामा एक सय ८३, खैरहनी नगरपालिकामा एक सय १०, कालिका नगरपालिकामा एक सय, रत्ननगर नगरपालिकामा ४५ र भरतपुर महानगरपालिकामा ७६ गाईभैँसी प्रभावित भएका छन् । यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने डा आचार्यले बताउनुभयो । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको उहाँको भनाइ थियो ।
डा आचार्यका अनुसार विगत केही दिनदेखि गाईभैँसीमा लम्पिस्किनको सङ्क्रमण फैलिएको छ । “गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ”, उहाँले भन्नुभयो ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालले जनाएको छ ।
लम्पिस्किन रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किरोबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो । रोग लाग्नबाट बचाउनका लागि लम्पिस्किन विरुद्धको खोप लगाउनु पर्ने उहाँको भनाइ थियो । (रासस)

तपाईको प्रतिक्रिया