मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री

  जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ ।
काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम फालेको छु ।  अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीसित चुनौती र अवसर दुवै छन् ।”
थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उहाँको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति सङ्कल्प लिएर अगाडि बढेको उल्लेख गर्दै उहाँले अब ठूलाठूला एक्सन हुने र त्यसको तरङ्ग पनि ठूलै जाने बताउनुभयो ।
नीति तथा कार्यक्रम पारित गर्नुपर्ने र नागरिकता लगायतका विषयको टुङ्गो लगाउनुपर्ने जिकिर गर्दै प्रधानमन्त्री दाहालले कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयम्सेवकका रुपमा नेतृत्वलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले शङ्खरापुरको विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्व कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सेन बहुआयमिक व्यक्तित्वको धनी र निष्ठावान् व्यक्ति भएको तथा क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणाको स्रोत भएको बताउनुभयो ।
साधारणसभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाइते, बेपत्ता, द्वन्द्वपीडित र पत्रकार तथा उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । (रासस)

तपाईको प्रतिक्रिया