बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन

  जेठ १०, २०८०

सप्तरी, १० जेठ : सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका टोलमा बालबालिकाले दुईदिनदेखि लगातार सडक नाटक प्रदर्शन गरिरहेका छन् ।

जनता माध्यमिक विद्यालय रामपुर जमुवा र रामदयाल माध्यमिक विद्यालय सखुवाक चन्दाहाका बालबालिकाले शम्भुनाथको विभिन्न टोलमा सडक नाटक प्रदर्शन गरेको कार्यक्रम संयोजक बरुण बस्यालले बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको सहयोगमा शम्भुनाथको बैरयाही टोल, मिलन चोक, सदा टोल, शिवचोक, शम्भुनाथ मेलालगायतमा सडक नाटक प्रदर्शन गरिएको हो ।

इन्सेकद्वारा विद्यालयमा गठित बालअधिकार सचेतना समूहका बालबालिकालाई सडक नाटकको तालिम दिएपछि उनीहरु स्वयं बालश्रम, बालविवाह, महिला हिंसा र लागू औषधविरूद्ध सडक नाटक प्रदर्शन गर्न थालेका हुन् । बालकलाकारले समाजमा महिला हिंसाको स्वरुप, बालश्रम गर्न बाध्य हुने अवस्था, बालविवाह र लागुऔषधले पार्ने असर समावेश गरी सडक नाटक प्रदर्शन गरिरहेका छन् ।

गरिब, दलित समुदायमा शिक्षा र सचेतनाको कमीकै कारण हिंसा बढी हुने गरेको शम्भुनाथ नगरपालिका–१० का पूर्ववडाध्यक्ष पतिराम सदाले बताउनुभयो । मानवअधिकार निगरानी समूहका सचिव रामनारायण मण्डलले बालबालिकाकै माध्यमबाट समाजमा रहेको विकृति एवं विस¬ङ्गतिलाई हटाउन खोज्नु बढी लाभदायी भएको बताउनुभयो । मानवअधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायलाई झक्झकाउन सडक नाटक प्रभावकारी हुने गरेको उहाँको भनाइ थियो ।

सडक नाटकमा शङ्करकुमार साह, करिना सरदार, जयप्रकाश दास, रोशनपाल, पशुपति चौधरी, अच्छे सरदार, मिथलेश साह, राजकुमारी मण्डल, सूर्य पाल, काजल मण्डल, प्रितिकाकुमारी चौधरी, श्रवण मण्डल, आशाकुमारी मण्डल, प्रिता चौधरी, सुरज चौधरी, करण चौधरी, हेमन्त चौधरी र सचिदानन्द चौधरी सहभागी थिए । (रासस)

तपाईको प्रतिक्रिया