स्थायी शान्ति र राहतको पर्खाइमा सुडान

  जेठ १०, २०८०

खार्तूम, १० जेठ : सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन बुधबार झडपका घटना कम भए पनि युद्ध पूर्णरूपमा रोकिएको छैन । युद्धविरामको घोषणाले सङ्कटमा परेका नागरिकमा राहत कोरिडोर र युद्धबाट उम्कने बाटो चाँडै खुल्ने आशा जगाएको छ ।
राजधानीभर छिटपुट गोलाबारी अझै पनि प्रतिध्वनित भएको छ तर एक हप्ता लामो युद्धविरामको अवलोकन गरिरहेका दुई विदेशी शक्तिहरूले सोमबार अबेर युद्धविराम लागू भएदेखि खार्तूममा लडाईं ‘कम तीव्र’ देखिएको बताएका छन् ।
युद्धरत पक्षहरूले युद्धविरामको पूर्वसन्ध्यामा सैन्य लाभ लिन खोजेको मा ‘चिन्ता’ व्यक्त गरे र ‘दुवै पक्षले सम्झौताको उल्लङ्घन गरेको सङ्केत गर्ने’ रिपोर्टहरू आएका वासिङ्टन र रियादले जनाएका छन् ।
अप्रिल १५ मा युद्ध सुरु भयो, जसका कारण हजारौं विदेशीहरूले सुडान छोडेका छन् भने १० लाखभन्दा बढी सुडानीहरू आन्तरिक वा बाह्यरूपमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।
सुडानका नेता सेना प्रमुख अब्देल फतह अल बुरहानले अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
अत्यधिक गर्मी, विद्युत् आपूर्ति बन्द र खाद्यान्न, औषधि र अन्य खाद्यान्नको चरम अभावबीच लाखौं मानिस लडाकु र घुमन्ते लुटेराहरूबाट लुक्न घरभित्रै थुनिएका छन् ।
सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञ राधुआने नुइसरले युद्धको भयवहको चित्रण गर्दै भन्नुभयो, “पूरै देशलाई बन्धक बनाइएको छ । मानिसहरू एक्लो र परित्यक्त महसुस गरेका भेटिन्छन् ।”
यद्यपि, उनीहरूले सुडानका जनतालाई ‘जीवन रक्षक सहायता प्रदान गर्ने’ तयारी भइरहेकोमा जोड दिए । पाँच हप्ताभन्दा बढीको लडाईको सामना गरेको सुडानी नागरिकले युद्धबाट अतालिएको बताएका छन् । युद्धका कारण एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युद्धमा हजारौँको सङ्ख्यामा घाइते भएका छन् । (रासस)

तपाईको प्रतिक्रिया