भरतपुर, २ जेठ : चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् ।
हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न विभिन्न प्याकेज अघि बढाउने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकलाई चितवनको बसाइ लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यको प्रवद्र्धनमा होटल व्यवसायीले सघाउने बताउनुभयो । “चितवनका लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।
उहाँले वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको जनाउँदै यसलाई जोगाउन सबैको दायित्व भएको बताउनुभयो । गत वैशाख १ गतेदेखि अनौपचारिकरूपमा उडान सुरु भए पनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरूपमा शुभारम्भ गर्नुभएको थियो ।
होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलले प्याराग्लाइडिङको प्रवद्र्धनका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी भरतपुरवासीका लागि यो झनै खुसीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुआत हुनु गौरवको विषय हो”, उहाँले भन्नुभयो ।
हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजयबहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङ प्रवद्र्धनका लागि सबै होटल व्यवसायीको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेज घोषणा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौँ भन्ने उद्देश्यले हामीले प्याराग्लाइडिङ सुरु गरेका हौँ, यो हाम्रोमात्र होइन, चितवनवासीको सम्पत्ति हो, यसलाई जोगाइराख्न सबैको सहयोगको खाँचो छ ।”
रासस