पुनर्निर्माणको पर्खाइमा मै छन पुराना दरबार

  जेठ ०२, २०८०

दोलखा, २ जेठ  :  दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२, दोलखा बजारमा रहेको करिब चार सय वर्ष पुराना भवन जीर्णोद्धार र पुनर्निर्माणको पर्खाइमा छन् ।

यहाँका पुरन्छेँ र तत्कालीन मुद्रा सङ्ग्रहालयको भवन पुनर्निर्माण हुन नसकेका हुन् । पुरन्छेँ ३८५ वर्ष पुरानो हो भने मुद्रा सङ्ग्रहालय विसं १५९१–१६०५ बिचमा निर्माण भएको हो ।

यी पुराना भवनको स्वामित्व रहेका व्यक्ति हाल यहाँ नरहेका कारण पनि पुनर्निर्माण हुन नसकेको हो ।भीमेश्वर–२ का पूर्ववडाध्यक्ष विराजमान श्रेष्ठले भन्नुभयो, “पुरन्छेँका जनकलाल श्रेष्ठ, डब्बल श्रेष्ठ र मोहनकृष्ण श्रेष्ठको मृत्यु भइसकेको छ ।

उहाँहरूका छोरासमेत यहाँ उपस्थित हुन नसक्दा बहुस्वामित्वको यो भवन पुनर्निर्माण हुन सकेको छैन । मुद्रा सङ्ग्रहालयका भरतबहादुर श्रेष्ठ, दानबहादुर श्रेष्ठ, नारायण श्रेष्ठ र मङ्गलमणि श्रेष्ठको मृत्यु भइसकेको र उहाँहरूका अंशियार उपस्थित हुन नसक्दा भवन पुनर्निर्माण हुन नसकेको हो ।”

यी भवन भूकम्पबाट क्षतिग्रस्त भएका छन् र दुर्घटनाको जोखिममा छन् । यी भवनबाट दुर्घटना भएमा भवन मालिकले नै क्षतिपूर्ति बेहोर्नुपर्ने प्रावधान छ । भीमेश्वर मन्दिर जाने बाटामै पर्ने पुरन्छेँबाट धेरै जोखिम रहेको छ ।

यी भवनको व्यवस्थापन गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएको चर्चा गर्दै वडाध्यक्ष स्टालिन श्रेष्ठले भन्नुभयो, “ती भवन जोखिमपूर्ण अवस्थामा रहेकाले घरधनीसँग यथाशीघ्र के गर्ने भन्ने निकास निकाल्न छलफल भइसकेको छ । सबै जना यहाँ उपस्थित हुन नसक्ने भएकाले काठमाडौँमै उपस्थित हुने पक्का भइसकेको छ । छिट्टै यो काम गर्न लागिएको छ ।”

हालसम्मका छलफलमा दुवै भवन स्थानीय सरकारलाई हस्तान्तरण गर्ने पनि सहमति भएको छ । हस्तान्तरणपछि यसको व्यवस्थापन स्थानीय सरकारले गर्ने जानकारी उहाँले दिनुभयो । (गोरखापत्र)

तपाईको प्रतिक्रिया